काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता आज कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् । खेल सोमबार बेलुकी साढे ४ बजेपछि सुरु हुनेछ ।
मंगलबारदेखि भने एकै दिन दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुकी ५ बजे सुरु हुनेछ । एक खेल मात्र हुने दिन पनि खेल बेलुकी ५ बजेपछि सुरु हुने तालिका छ ।
प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज सहभागी हुनेछन् । यी आठ टोलीले लिग चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
