मंगलबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको थियो।
यो पनि: शेखर कोइरालाले गरे राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध
उक्त अध्यादेशलाई लिए सत्तारूढ दल कांग्रेस, सत्तारूढ गठबन्धनकै नेताहरू र नेकपा एमालेले विरोध गरिरहेका छन्। राष्ट्रपति कार्यालयमा मंगलबार नै अध्यादेश पुगे पनि बुधबार बिहानसम्म जारी भएको छैन।
अध्यादेश ल्याउनु सधैं गलत भएको कांग्रेस नेता थापा बताउँछन्। ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउन गलत। हिजो पनि गलत, आज गलत र सधैं गलत, जसले गरे पनि गलत,’ बुधबार ट्वीट गर्दै थापाले भनेका छन्।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ वैशाख ८ मा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका थिए। त्यसबेला विरोध भएपछि चार दिनपछि फिर्ता लिइएको थियो।
उक्त प्रसंग निकाल्दै थापाले ओलीले अध्यादेश ल्याउँदा गलत भन्ने र त्यसविरूद्ध उभिने कसैलाई पनि अहिले अध्यादेशको समर्थन गर्ने हक नहुने बताएका छन्।
‘हिजो ओलीले ल्याउँदा गलत भन्ने त्यसको विरूद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन,’ थापाले भनेका छन्, ‘समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’
यो पनि: सरकारले अध्यादेश ल्याएकोमा प्रदीप पौडेलको विरोध
साथै उनले पहिले यस्तै अध्यादेश जारी गरेकाहरूलाई अहिले विरोध गर्ने हकसमेत नहुने बताएका छन्।
‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मन्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ,’ उनले भनेका छन्।
