नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन केन्द्रित भेला गरेका छन्।
आज बसुन्धारामा पौडेलले राखेको भेलामा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, मीनेन्द्र रिजाल, सुजाता कोइरालालगायत उपस्थित थिए।
बैठकमा क्रियाशील सदस्यता निष्पक्ष हुनुपर्नेबारे कुरा उठेको थियो। बैठकपछि नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्यता निष्पक्ष हुनुपर्नेलगायत विषयमा कुराकानी भएको पत्रकारहरूलाई बताए।
उनले सभापतिमा इच्छा गर्ने व्यक्ति कांग्रेसमा धेरै भएको पनि बताए।
‘सभापति उठ्ने इच्छा धेरैको छ। म पनि हुँ,’ उनले भने, ‘हरेक व्यक्ति सभापतिको उम्मेदवार हुन पाउँछ। तर हाम्रो टिमबाट को लड्ने भन्ने निर्णय हुन बाँकी नै छ।’
पौडेल पक्षमा २९ जना केन्द्रीय सदस्य छन्। पौडेलले भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित छलफल गरेका हुन्। पौडेलले आफूनिकट केन्द्रीय सदस्यसँग महाधिवेशनबारे छलफल गरेका हुन्।
यसअघि आजै उपसभापति विमलेन्द्र निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पनि भेटवार्ता भएको थियो।
साथै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यसअघि आफूनिकट केन्द्रीय सदस्यको भेला गरेका थिए। सभापतिमा पुन: दोहोरिने तयारीमा देउवा छन्।
पौडेल पनि सभापतिको तयारी गरिरहेका छन्। उनले आफ्नो टिमभित्र छलफल गरेर औपचारिक रूपमा सभापति उठ्नेबारे निर्णय गर्ने बताइरहेका छन्।
