पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङले (दीपक मनाङे) आफूले भौतिक मन्त्रालय नपाए मुख्यमन्त्री माग गर्ने बताएका छन् ।
वैशाख २९ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका मनाङेले भौतिक मन्त्रालय नदिए मुख्यमन्त्रीको जिम्मेवारी दिन माग राखेका छन् ।
माओवादी र कांग्रेसले ४–४ वटा मन्त्रालय दिने र जनता समाजवादी पार्टीलाई ३ वटा मन्त्रालय दिने सहमति भएको उनले बताएका छन्। ‘मलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्री दिन्छन्, मैले भनिसक्या छु,’ उनले भने ।
भौतिक पूर्वाधार मन्त्रालय पाउनु पर्ने दावी गरिरहेका मनाङेलाई मुख्यमन्त्री पोखरेलले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेका थिए । पोखरेलले यो मन्त्रालय तत्कालका लागि भनेका थिए ।
त्यस्तै नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुले आइतबार नै पदभार ग्रहण गरे ।
रिक्त र विना विभागीय मन्त्रालयको बाँकी बाँडफाँट बजेट छलफल पछिमात्रै हुने भएको छ ।
