काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिद्वारा नवगठित बाढी–पहिरो विपद् व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतले पद सम्हालेपछि गरेको पहिलो निर्णय लोकप्रिय भएको छ ।
कांग्रेसले बाढी–पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रुपैयाँ दिने भएको संयोजक बस्नेतले बताए । कांग्रेसले बैशाखयता बाढी र पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई नगद रकम दिने निर्णय गरेको छ ।
नेता बस्नेतले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । ‘२०७८ सालको बाढी–पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई थोरै भएपनि मानवीय सेवाका हिसाबले प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउने जानकारी गराउँछौं,’ संयोजक बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको असार ४ गतेको बैठकबाट बाढी–पहिरोको विपदमा परेकाहरूलाई सहयोग गर्ने र क्षतिबारे प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्य बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

