काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रेफ्री प्रज्जवल क्षेत्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता सुरु गरेका हुन् । सभापति कपमा आज सुरुकै दिन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चर्च ब्वाइज र सङ्कटा क्लव भिडेका छन् । जसमा चर्च ब्वाइजलाई ३–० गोलअन्तर पराजित गर्दै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सङ्कटालाई जित दिलाउन अबेक रिर्चडले दुई तथा चन्दन दासले एक गोल गरे । यता, चर्च ब्वाइज भने प्रतियोगिताबाटै बाहिरिएको छ । जारी प्रतियोगिताको खेल हेर्न आउने दर्शकका लागि भिआइपी प्याराफिटतर्फ रू तीन सय र साधारणतर्फ रू एक सय टिकट मूल्य निर्धारण आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रू २६ लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले रू १३ लाख प्राप्त गर्नेछ । यसैगरी हरेक खेलमा म्याच फि का रूपमा प्रत्येक टिमले रू ५० हजार पाउनेछन् भने प्लेयर अफ दी म्याचलाई रू १५ हजार प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई रू ७५ हजार, उत्कृष्ट गोलकिपरलाई रू ५० हजार, सर्वाधिक गोलकर्तालाई रू ५० हजार र उदीयमान खेलाडीलाई रू २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
