काठमाडौँ । भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा नयाँ तथ्य खुलासा भएको छ।
मृतक प्रकृतिका प्रेमी भनिएका एदविक श्रीवास्तव उत्तर प्रदेशका प्रभावशाली नेता मनोज श्रीवास्तवको छोरा भएको खुलेको हो । भारतीय जनता पार्टीमा आवद्ध उनलाई कतिपयले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘युपी दूत’ समेत भन्ने गरेका छन् ।
प्रकृतिले केहि समयअघि एदविकले बारम्बर मानसिक यातना दिएको र ह्यारेसमेन्ट गरेको भन्दै कलेजको अन्तराष्ट्रिय सम्बन्ध कार्यालयमा उजुरी दिएको उनी निकट विद्यार्थीहरु बताउँछन् । तर कलेज प्रशासनले उजुरीलाई ‘नोटिस’मै लिएन ।
भाजपा नेताको छोराविरुद्धको उजुरी भएर कलेजले प्रकृतिको उजुरीलाई गम्भिरतापूर्वक नलिएको दाबी गरिएको छ । आइतबार प्रकृतिको मृत्युपश्चात प्रहरी घटनास्थलमा आइपुग्नुअघि नै कलेज प्रशासनले शव व्यवस्थापन गर्न खोज्नुले एदविकको बचाउलाई बल पुर्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अर्को रोचक के छ भने, उक्त कलेजको होस्टेलमा यसअघि पनि विभिन्न समयमा आठ विद्यार्थीको यस्तै शंकाशापद मृत्यु भएको थियो । तर, कलेज प्रशासनले ती सबै घटना सामसुम पारेर मिडियामा आउन नदिएको बताइन्छ।
सोही कलेजका पूर्व विद्यार्थी अरविन्द भाजपायीले भनेका छन्, ‘संयोगले प्रकृति लम्सालको मृत्यु बाहिर आयो, अब यो घटनासहित यसअघिका आठ विद्यार्थीको घटनामा पनि अनुसन्धान हुनुपर्छ ।’
