काठमाडौं | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन्। पक्राउ परेकी महिला ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मकाइले स्यान्टोस फरेरा हुन्। उनी ब्राजिलबाट दुबईलाई ट्रान्जिट बनाएर नेपाल आएकी थिइन् र नेपालबाट भुटान जान लाग्दा पक्राउ परेकी हुन्।
विगत केही समययता नेपाल भित्रिने लागुऔषधजन्य पदार्थको मात्रा बढ्दै गएका कारण विमानस्थल, नेपाल–भारत नाका लगायतका प्रवेश नाकामा निगरानी कडा पारिएको छ। यही क्रममा त्रिभुवन विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीको नजरमा इमिली परेकी थिइन्।
ब्युरोका अनुसार, ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले आफ्नो ब्राभित्र १० वटा कन्डममा प्याक गरिएको करिब १ केजी ९५० ग्राम कोकिन लुकाएर ल्याएकी थिइन्। नेपालबाट भुटान जान लाग्दा शंकास्पद गतिविधि देखिएपछि उनको निगरानी बढाइएको थियो। प्रारम्भिक रूपमा उनको लगेज र ह्यान्डक्यारी ब्याग चेक गर्दा केही शंकास्पद वस्तु फेला परेन। तर महिला प्रहरीलाई बोलाएर शरीर जाँच गर्दा ब्राभित्र लुकाइएको कोकिन बरामद गरिएको हो।
ब्युरोका एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान जारी छ।
