काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइकिङ भेइकल उपहार दिएका छन्। उनले नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरी लाइट स्ट्राइकिङ भेइकल हस्तान्तरण गरेका हुन्।
स्रोतका अनुसार, मिश्रीले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइकिङ भेइकल, २ वटा सैनिक कुकुर, ६ वटा सैनिक घोडा र केही स्वास्थ्य सामग्रीहरू पनि उपहार दिएका छन् । भेटवार्ताका क्रममा दुईपक्षीय हित र सैन्य सम्बन्धबारे पनि छलफल भएको जंगीअड्डा स्रोतले जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार काठमाडौं आएका मिश्रीले सोमबार बिहान जंगीअड्डामा पुगेका थिए। विक्रम मिश्री आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, र सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
