काठमाडौँ – प्रहरीको बर्दिमा रहेको एक सिपाही जसले उठाएको प्रश्नले अहिले सामािजक सन्जाल तातिरहेको छ ।
प्रहरीभित्रको हालत बाहिर आएको छ भने तल्लो तहमा रहेकाहरुको वास्तविकता उजागर गरेको छ । त्यसैले त सामाजिक सन्जाल प्रयोगकर्ताहरुले भनिरहेका छन् बल्ल नेपाल प्रहरीमा एउटा जिउँदो बहादुर सिपाहीको जन्म भएछ । सलाम छ’
उनी हुन नेपाली प्रहरीका जवान माधवप्रसाद भुगाई । सुरक्षा फौजमा बर्दीमै खुलारूपमा बोल्दा हुनसक्ने चुनौतीकाबीच भुगाईले बर्दीमै भिडियो बनाएर प्रहररीमा शक्ति (पावर) का विषयमा प्रश्न उठाएका छन् । प्रहरीको बर्दीमा उनले बनाएको ३७ सेकेन्डको भिडियो अहिले भाइरल छ ।
‘जय नेपाल सत्य सुरक्षा सुरक्षणम, यो नेपाल प्रहरीको जागिर के हो ? यतिकासम्म दुःख गर्ने अनि पावर हुने फ्याट्टफ्याट्ट बढुवा हुने, फ्याट्टफ्याट्ट जहाँ भन्यो त्यहीँ सरुवा हुने । पावर नहुनेको चाहिँ केही पनि नहुने ? पावर नहुनेको केही पनि छैन ?,’ उनले प्रश्न गरेका छन् ।
त्यसपछि ती जवानले भिडियोमै आफ्नो परिचय समेत दिँदै आफ्नो जागिर खाने भए खाउ समेत भनेका छन् ।
‘म नेपाल प्रहरीको प्रहरी जवान माधवप्रसाद भुगाई । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छु । मैले चुस्तामै भिडियो बनाएको छु । मेरो जागिर खाने भए खाउ । तर यदि पावर हुनेले जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाउ । हामीजस्तो गरिब दुः खीको जागिर हुन्न भने जागिर खानु छैन मलाई ।’
माधवप्रसादको यो भिडियो एउटा सिपाहीको व्यक्तिगत आक्रोश मात्र होइन, बरु प्रहरीभित्रको वर्षाैं पुरानो पावर र पहुँचको खेललाई उजागर गर्ने एउटा ‘बोल्ड स्टेटमेन्ट’ बनेको छ । हुनपनि नेपाल प्रहरीका कर्मचारीहरूले जागिर छाड्ने क्रम बढ्दै गएको छ।
गएको आर्थिक वर्ष २०८१र०८२ मा २ हजार ३ सय ६९ जना प्रहरीले राजीनामा दिएका छन्, जसमध्ये १९ जना सिनियर अधिकारीहरू पनि छन्। सबैभन्दा धेरै राजीनामा दिनेमा जवान र हवल्दारहरू रहेका छन्। ।
यसको अर्काे पाटो हेर्दा, यही अवधिमा २ हजार ७ सय १७ जना नयाँ भर्ना भएका छन्, जसले खाली भएको दरबन्दी केही हदसम्म पूर्ति गरेको छ। यसबाहेक, ७ हजार ४ सय प्रहरीको बढुवा भएको छ र २१ हजारभन्दा बढीको सरुवा भएको छ।
हाल नेपाल प्रहरीमा ७९ हजार ५४१ जनाको दरबन्दी छ, तर ७४ हजार ८०६ जना मात्र कार्यरत छन्। यसको मतलब, अहिले पनि ४ हजार ७३५ वटा पद खाली छन्। । जहाँ प्रहरीमा राजिनामा बढ्नुमा सरुवा, बढुवा र वृत्तिविकाससहितमा पछिल्लो समय भेदभाव, राजनीतिक कित्ताकाँट र उच्च तहको फट्याइँ मुख्य कारण रहँदै आएको छ ।
प्रहरीलाई कठपुतली बनाउने अर्को प्रपञ्च
यतिका वेतिथि र समस्यकाबीच नेपाल प्रहरीको महानिरीक्षकमा विधिविधान मिचेर तजबिजका आधारमा नियुक्त गर्ने वेथिति ब्युँताउन सरकार सक्रिय छ ।
३० वर्षे कार्यकाल सकिएर अवकाशमा जान लागेका महानिरीक्षक दीपक थापाको कार्यकाल थप्न सरकारले प्रहरी नियमावलीको व्यवस्था नै निलम्बन गर्न लागेको छ । सर्वाेच्च अदालतले १२ वर्षअघि नै प्रहरीको सेवा–सर्तसम्बन्धी कानुन बनाउन परमादेश दिएको भए पनि सरकारले त्यसो गर्नुको सट्टा व्यक्ति विशेषलाई फाइदा र्पुयाउन नियमावली संशोधनको तयारी गरेको छ ।
यसले प्रहरीको संगठनको बफादारिता कानुनप्रति होइन, नेता विशेषप्रति हुनुपर्ने मान्यता झन् बलियो हुने भन्दै संगठनभित्र र बाहिर चिन्ता बढेको हो । प्रहरी महानिरीक्षक थापा र उनका ब्याचका अधिकारीहरू भदौ १८ गते अवकाशमा जाँदैछन्। त्यसपछि आईजीपीको दौडमा एआईजी चन्द्रकुबेर खापुङ एक्ला दाबेदार छन्। तर, सेवा अवधिकै कारण उनी मुस्किलले साढे दुई महिना मात्र पदमा रहनेछन्।
सरकार भने यो महत्त्वपूर्ण पदमा योग्यतम व्यक्तिलाई ल्याउनुको सट्टा नियमावलीको साहरा लिएर व्यक्ति विशेषलाई लाभ र्पुयाउन खोजेको भन्दै प्रहरी संगठनभित्र र बाहिर चिन्ता बढेको छ। यसले प्रहरीको बफादारिता कानुनभन्दा नेताप्रति हुने जोखिम बढाएको छ। अहिले प्रहरी २०१२ को ऐनअनुसार चलिरहेको छ, तर नयाँ ऐन ६ महिनादेखि संसद्मा अलपत्र छ ।
प्रहरीको समस्यामा छैन कसैको चासो
नेपाल प्रहरीको सबैभन्दा ठूलो समस्याका रुपमा राजनीतिक हस्तक्षेप छ । प्रहरीका जवानहरूले आफूमाथि हुने राजनीतिक दबाब र हस्तक्षेपको सामना गर्नुपर्छ। यसका साथै, पदोन्नतिमा ज्येष्ठता र कार्यसम्पादनलाई भन्दा पनि पहुँच र पावरलाई प्राथमिकता दिइने गरेको गुनासो व्यापक छ।
यसले गर्दा योग्य र मेहनती जवानहरू पछाडि पर्छन्, जसले मनोबल घटाउँछ । त्यस्तै प्रहरी जवानहरूको तलब र भत्ता उनीहरूले गर्ने कामको तुलनामा कम छ। उनीहरूले दुर्गम क्षेत्रदेखि जोखिमपूर्ण परिस्थितिमा समेत काम गर्नुपर्छ, तर त्यसअनुसारको पारिश्रमिक र सुविधा पाइरहेका छैनन्।
आवास, स्वास्थ्य सेवा, र सन्तुलित आहारको कमीले उनीहरूको जीवनशैलीमा नकारात्मक असर परेको छ भने नियमितभन्दा धेरै घण्टा काम गर्नुपर्छ, विशेषगरी चाडपर्व, भीड नियन्त्रण, र सुरक्षा गस्तीका बेला। लामो कार्यसमयका कारण उनीहरूले परिवारलाई समय दिन पाउँदैनन्, जसले पारिवारिक र सामाजिक जीवनमा तनाव उत्पन्न गर्छ।
उच्च मानसिक दबाब र तनाव पनि अर्काे गम्भीर समस्या हो, किनकि उनीहरूले निरन्तर जोखिम र अनिश्चितताको सामना गरिरहेका हुन्छन्। । यतिमात्र नभएर धेरैजसो प्रहरी चौकीहरूमा आवश्यक प्रविधिको अभाव छ। सवारी साधन, सञ्चार उपकरण, र अनुसन्धानका लागि चाहिने आधुनिक सामग्रीहरूको कमीले गर्दा काममा ढिलाइ र चुनौती आउने गरेको छ।
त्यसैगरी, बदलिँदो अपराधको प्रकृतिअनुसार समय–समयमा दिइने तालिम पनि पर्याप्त नभएको गुनासो सुनिन्छ । ट्राफिक प्रहरीसँग सम्बन्धित निकायले उनीहरूको स्वास्थ्य सम्बन्धी अध्ययन नगरे तापनि डा. मुकुल ढकाल सहित चार जना चिकित्सकहरूले सन् २०१७ मा गरेको अध्ययनले ट्राफिक प्रहरीहरूमा शारीरिक र मानसिक स्वास्थ्य दुवैको समस्या रहेको देखाएको छ।
‘इन्टरन्याशल जर्नल अफ अकुपेशनल सेफ्टी एन्ड हेल्थ’ मा प्रकाशित ‘काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको स्वास्थ्य समस्या’ शीर्षकको उक्त अध्ययनमा औसत ३१ वर्ष उमेरका २९६ जना ट्राफिक प्रहरी सहभागी थिए। तीमध्ये सयमा ७२ जनाले दृष्टिमा समस्या लगायत आँखा पोल्ने, चिलाउने र आँसु आइरहने समस्या आएको बताएका थिए।
त्यस्तै १० मध्ये करिब ९ जनालाई (८७.८ प्रतिशत) शरीरको कम्तीमा एक भागमा (घाँटी, काँध, ढाड–कम्मर, घुँडा, खुट्टा, जोर्नी) अत्यधिक दुख्ने समस्या थियो। उक्त अध्ययनमा सहभागीमध्ये ५८.८ प्रतिशत ट्राफिक प्रहरीलाई कुनै न कुनै किसिमको मानसिक समस्या थियो । तर यी विषयमा स्वयम प्रहरीकै हाकिमलाई समेत चासो र चिन्ता देखिदैन ।
