काठमाडौं । नेपाली सेनाकी जमदार ईश्वरी भुजेलको हत्या प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त उनका पति ’नेपाली ब्रो’ भनिने कुमार थापा मगर र उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। बिहीबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यी दुई जनालाई कारागार पठाउने र अन्य दुई जनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। यसै घटनामा पक्राउ परेका कुमारका भाइ विक्रम थापा मगर र उनका साथी सुजन थापालाई भने जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।
घटना २०८३ साल जेठ २२ गते रातिको हो। नेपाली सेनाको सैनिक ब्यान्ड नारायणहिटीमा कार्यरत ईश्वरी भुजेल आफ्नो ड्युटी सकेर घर फर्किंदै गर्दा कुमारले बाटो ढुकेर चक्कु प्रहार गरी उनको निर्मम हत्या गरेका थिए। प्रहरीको अनुसन्धान र कुमारको बयानअनुसार, घटनाको दिन कुमार सुरुमा घर पुगेका थिए। तर, पत्नी ईश्वरी घर नपुगेको देखेपछि उनी बाटोमै ढुकेर बसेका थिए र ईश्वरी आउनासाथ योजनाबद्ध रूपमा हत्या गरेका थिए। यस जघन्य अपराधको मुख्य कारण कुमार र सहप्रतिवादी प्रतीक्षा आचार्यबीचको प्रेम सम्बन्ध रहेको प्रहरीको निष्कर्ष छ। प्रतीक्षासँगको यही अनैतिक सम्बन्धका कारण कुमार र ईश्वरीबीच विगत केही वर्षदेखि गम्भीर विवाद उत्पन्न हुँदै आएको थियो।
ईश्वरी र कुमारबीचको सम्बन्धविच्छेदको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन अवस्थामा थियो। ईश्वरीले सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दायर गरे पनि कुमारले त्यसलाई अस्वीकार गर्दै आएका थिए। अदालतले उक्त मुद्दालाई मेलमिलापका लागि पठाएको थियो। तर, अदालतले मेलमिलापको प्रक्रियामा पठाएको दुई दिनपछि नै ईश्वरीको हत्या हुन पुग्यो। घटनाअघि कुमारले ईश्वरीलाई अदालतमा दायर गरिएको मुद्दामा मिलापत्र गर्न बारम्बार दबाब दिइरहेका थिए। ईश्वरीले उक्त दबाबलाई अस्वीकार गरेपछि र प्रतीक्षासँगको सम्बन्धका कारण उब्जिएको कलहले उग्र रूप लिएपछि कुमारले हत्याको बाटो रोजेको अनुसन्धानबाट खुलेको छ।
यसअघि पनि कुमार र ईश्वरीको पारिवारिक झगडा प्रहरी कार्यालयसम्म पुगेको थियो। कुमारले ईश्वरीलाई कुटपिट गर्ने र मानसिक यातना दिने गरेको पाइएपछि प्रहरी वृत्त बालाजु र प्रहरी परिसर काठमाडौँमा गरी दुई पटक मिलापत्र गराइएको थियो। उक्त मिलापत्रमा कुमारले प्रतीक्षालाई छाड्ने र उनीसँग कुनै प्रकारको सम्बन्धमा नरहने सर्त राखिएको थियो। तर, कुमारले सम्झौताको उल्लंघन गर्दै प्रतीक्षासँगको सम्बन्ध निरन्तर राखेका थिए। प्रतीक्षा कुमारको नुवाकोटस्थित घरमै गएर बसेको समेत खुलासा भएको छ। घटनाको समयमा प्रतीक्षा घटनास्थलमा नभए पनि उनकै कारण घरमा झगडा भएको र पटक–पटकको मिलापत्रपछि पनि कुमारबाट अलग नभएको कारण उनलाई पनि यस अपराधको प्रमुख कारण मानिएको हो।
जाहेरीमा उल्लेख भएअनुसार यस हत्याकाण्डमा कुमारका भाइ विक्रम र साथी सुजनको पनि भूमिका रहेको छ। भाइ विक्रमले ईश्वरीलाई तह लगाउन उक्साएको र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने आश्वासन दिएको आरोप छ। उनले दाजुको अनैतिक सम्बन्धलाई सल्टाउनुको सट्टा झन् प्रश्रय दिएको जाहेरीमा उल्लेख छ। यसैगरी, धनेश्वर अटो मोबाइल्स प्रालिका सञ्चालक समेत रहेका पुजन थापा क्षेत्री (सुजन) ले कुमार र प्रतीक्षालाई भेटघाट गराउने तथा घटना घटाउन प्रोत्साहन गरेको आरोप लगाइएको छ।
