काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच आज कुपण्डोलस्थित बालेनका सहयोगीको निवासमा झण्डै चार घण्टा लामो ’वान–टु–वान’ वार्ता भयो, तर यो लामो छलफल कुनै ठोस निष्कर्षमा पुग्न सकेन।
मुलुकको राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको यो भेटवार्तामा दुई ध्रुवीय युवा शक्तिको कुरा नमिल्दा सहकार्यको सम्भावना तत्कालका लागि टरेको छ। भेटवार्ता सकाएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको ’लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो?’ भन्ने प्रश्नमा रवि लामिछानेले हाँस्दै ’अलिकति प्रश्न गर्नुहोस् न’ भन्दै प्रत्यक्ष जवाफ दिन चाहेनन्। यद्यपि, भेटवार्ता कत्तिको सकारात्मक रह्यो भन्ने अर्को प्रश्नमा उनले ’मेरो अनुहारले के बताउँछ?’ भन्दै संकेतात्मक प्रतिक्रिया दिएका थिए।
रविको यो छोटा तर अर्थपूर्ण अभिव्यक्तिले भेट सकारात्मक भएको संकेत गरे पनि राजनीतिक सहकार्यको बिन्दु भने अझै फेला परेको छैन। रवि र बालेन मिलेको हेर्न चाहने युवा पुस्ता (जेनजी) को सपना आजको पहिलो भेटले पुरा गर्न नसके पनि सभापति लामिछानेले आजै फेरि बालेन शाहसँग भेटवार्ता गर्ने तयारी रहेको बताएका छन्, जसले गर्दा आजै जेनजीको सपना पुरा हुने आशा भने जीवितै रहेको छ।
