काठमाडौँ । बोलीको ठेगान नभएका र चरम दम्भले भरिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र आफूमाथि प्रश्न उठ्नेबित्तिकै उच्च नैतिकता प्रदर्शन गर्ने पूर्व गृहमन्त्री रमेश लेखक बीचको चरित्रगत भिन्नता यतिबेला चर्चाको उत्कर्षमा छ। यता लेखकले जेन–जी आन्दोलनको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन जाने विवेकपूर्ण र साहसिक निर्णय गरेका छन् भने उता ओलीले आयोगलाई ’हा.हु.को सरकार’ भन्दै बयान दिन अस्वीकार मात्र गरेका छैनन्, बरु बयानमा उपस्थित नहुने हठपूर्ण अडान कायमै राखेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले भोगेको भदौ २३ र २४ गतेको त्रासदीपूर्ण घटनालाई सम्झँदा जो कोहीको मन आक्रोश र पीडाले भरिन्छ। ओली प्रधानमन्त्री हुँदा जेन–जी आन्दोलनकारी युवाहरूमाथि भएको निर्मम दमनका कारण सडकमा ७६ जना युवा ढले। बानेश्वर क्षेत्रमा मात्रै १७ जनाले ज्यान गुमाए र सयौँ युवा घाइते भए। यति ठूलो मानवीय क्षति हुँदा पनि ओलीले आजसम्म न गल्ती स्वीकार गरेका छन्, न त कुनै चिन्ता व्यक्त गरेका छन्। उनमा पछुतोको सट्टा उल्टै घमण्ड र दम्भको भावना देखिन्छ।
जाँचबुझ आयोगमा बयान दिन नजाने उनको अडानले उनी अझै पनि देश बनाउनेभन्दा पनि ध्वस्त पार्न चाहन्छन् भन्ने कुरालाई बल पु¥याउँछ। ओलीका पछिल्ला भाषणहरूले यो कुरालाई झनै पुष्टि गर्छन्। आफ्नो कार्यकालमा भएको गम्भीर घटनाको सत्य र तथ्य पत्ता लगाउने राज्यको संयन्त्रलाई अस्वीकार गर्नु भनेको कानुनी राज्यको उपहास गर्नु हो। युवाहरूको रगतको दागमाथि उभिएर पनि नैतिक जिम्मेवारीबाट पन्छिन खोज्नुले उनको राजनीतिक नियतमाथि गम्भीर प्रश्न उठेको छ। जेन–जी आन्दोलनकारी युवाहरूले लखेटेर पनि नसच्चिएका ओलीको यो प्रवृत्तिले उनी तानाशाही मनोवृत्तिबाट ग्रसित भएको देखाउँछ।
रमेश लेखकले देखाएको नैतिकता
ओलीले जाँचबुझ आयोग र जेन–जी सरकारलाई अस्वीकार गरिरहेका बेला, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले प्रदर्शन गरेको नैतिकता साँच्चै नै सराहनीय छ। लेखकमाथि अन्य अनेकौँ नैतिक प्रश्नहरू विगतमा उठेका छन्, तर यो क्षणमा उनले आयोगमा गएर बयान दिन जाने जुन निर्णय लिएका छन्, त्यसको हामीले खुलेर तारिफ गर्नैपर्छ। यो निर्णयले उनलाई जिम्मेवार र नैतिकवान नेताको रूपमा स्थापित गरेको छ।
लेखककै कार्यकालमा, २३ भदौको जेन–जी आन्दोलनमा घातक हतियारबाट गोली चलाएर दमन भएको थियो। बानेश्वर क्षेत्रमा भएको ठूलो क्षतिको नैतिक जिम्मेवारी लिँदै लेखकले सोही दिन बेलुका राजीनामा दिएका थिए। ओलीले अझै देशका युवाहरूलाई मार्न चाहन्थे होला, तर लेखकको नैतिक बलले गर्दा उनले ढिलै भए पनि राजीनामा दिए। ओलीले त देश खरानी भएपछि बल्ल भदौ २४ गते राजीनामा दिएका थिए, तर लेखकले तत्कालै राजीनामा दिएर आफ्नो सत्यनिष्ठता प्रमाणित गरेका थिए। भदौ २३ गते पनि लेखकले राजीनामा दिन खोज्दा ओलीले नै रोक्न खोजेका थिए, तर लेखकले आफ्नो नैतिकतालाई तल झर्न दिएनन्। अहिले पनि, ओलीले लेखकलाई पटक पटक वयानमा नजान दबाब दिएको चर्चा छ। तर, लेखकले यहाँ पनि नैतिकता देखाए र आयोगको पत्रलाई सम्मान गरे। ’भिजिट भिसा’ जस्ता अन्य विषयमा प्रश्न उठ्दा लेखकले राजीनामा दिन खोज्दा देउवा–ओलीकै गठबन्धनले उनलाई नैतिकता देखाउन दिएनन् होला, तर जेन–जी प्रकरणमा उनको अडान प्रशंसनीय छ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने विषयलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारलाई जानकारी गराएका छन्। आयोगले उनलाई शुक्रबार बयान दिन आउनू भन्दै मंगलबार पत्र पठाएको थियो। पत्र पाएपछि लेखकले आफू आगामी सोमबार बयान दिन जाने बताएका छन्।
लेखकले पत्रकारसँग कुराकानी गर्दै भनेका थिए, ‘आयोगले भदौ २३ र २४ गतेका घटनाका बारेमा जानकारी लिन मलाई बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु। उहाँहरूले शुक्रबारलाई बोलाउनु भएको रहेछ। म सोमबार बयान दिन आउँछु भनेको छु, । यसले स्पष्ट पार्छ कि लेखकले कानुनी प्रक्रियालाई सम्मान गरेका छन्। यति उच्च ओहदाको व्यक्तिले आयोगलाई सहयोग गर्नु भनेको राज्यका संस्थाहरू र सत्यको खोजीप्रति आफ्नो गहिरो प्रतिबद्धता देखाउनु हो।
बयान दिन जाने विषयमा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग के सल्लाह भएको छ? भन्ने पत्रकारको महत्त्वपूर्ण प्रश्नको भने उनले जवाफ दिएनन्। यसले ओलीले बयानमा नजान गरेको दबाबको चर्चालाई अप्रत्यक्ष रूपमा बल पु¥याएको छ। लेखकले ओलीसँगको सल्लाहलाई बेवास्ता गरेर स्वतन्त्र र नैतिक निर्णय लिएको बुझिन्छ, जुन निकै सराहनीय छ। पुर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले जेन–जी प्रदर्शनबारे गहन अनुसन्धान गरिरहेको छ।
