नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजना गरी निर्वाचन प्रक्रिया अघि बढाएका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार, सभापति शेरबहादुर देउवा निवास सानेपामा आज बिहान जम्मा भएका संस्थापन पक्षका नेताहरुले विशेष महाधिवेशनलाई ‘विधानविपरीत र पार्टी विभाजनकारी’ भन्दै यसमा संलग्न नेताहरूमाथि कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
संस्थापन पक्षका एक नेताका अनुसार विशेष महाधिवेशनको नाममा पार्टीको विधान, केन्द्रीय समिति र सभापतिको निर्णयलाई चुनौती दिइएको र यो स्पष्ट रूपमा पार्टी विभाजनको प्रयास भएको भन्दै यसमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने छलफल देउवा निवासमा भएको छ ।
विशेष महाधिवेशन आयोजक समितिका नेताहरूले भने यो कारबाहीको तयारीलाई ‘डर र त्रासको राजनीति’ भन्दै खारेज गरेका छन् । उनीहरूका अनुसार, बहुमत प्रतिनिधिको इच्छा र विधानअनुसार नै विशेष महाधिवेशन आयोजना भएको हो र यसलाई रोक्ने कुनै पनि प्रयास असफल हुने छ ।
भृकुटीमण्डपमा जारी महाधिवेशनमा सभापति पदमा गगन थापाको एकल उम्मेदवारी परिसकेको छ भने महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो १ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुने र त्यसपछि मतदान प्रक्रिया सुरु हुने कार्यक्रम छ ।
संस्थापन पक्षको कारबाहीको तयारीले नेपाली कांग्रेसमा औपचारिक विभाजनको ढोका खुल्ने खतरा बढाएको छ ।
