काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ’राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको’ भन्दै झापा–५ बाट निर्वाचन लड्ने चर्चालाई थप बल पु¥याएका छन् ।
२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेकोमा जोड दिएका छन् ।
उनले २०७२ सालको महाभूकम्पपछि सिभिल इन्जिनियरका रूपमा ३५ भन्दा बढी जिल्लामा गरेको कामको अनुभवले आफूलाई धेरै कुरा सिकाएको उल्लेख गर्दै उनले भनेका छन् “भूकम्पले हामीलाई कमजोरी देखायो, तर त्यसबाट सिकेर अब हामी मजबुत पूर्वाधार र सुरक्षित नेपाल बनाउन सक्छौं,”
यो सन्देशमा उनले थपेका छन्, “अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ ।” यो अभिव्यक्तिले पछिल्लो समय झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने उनको सम्भावित तयारीलाई थप पुष्टि गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।
झापा–५ हाल नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को निर्वाचन क्षेत्र हो, जसलाई उनको ’सेफ जोन’ मानिन्छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकृत भएपछि बालेनले यो क्षेत्रबाट उम्मेदवारी दिने चर्चा तीव्र बनेको छ ।
रास्वपा झापाका नेताहरूसँगको छलफलमा बालेनले माघ ६ गते जुलुससहित उम्मेदवारी दर्ता गर्ने तयारीसमेत गरेको स्रोतले जनाएको छ । उनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने संकेत पनि दिएका छन् ।
राजनीतिक वृत्तमा यो कदमलाई केपी ओली विरुद्ध ’जनरेशनल चेन्ज’ को प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ । तर, एमाले झापाका नेताहरूले बालेन आए पनि ओलीको जितमा कुनै फरक नपर्ने र उनको जमानत जफत हुने दाबी गरेका छन् ।
बालेन शाह २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट काठमाडौं महानगरको मेयर निर्वाचित भएका थिए । पछिल्लो समय उनले रास्वपासँग एकता गरेपछि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा पाएका छन् ।
