राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजिव खत्रीले एमालेलाई तिखो व्यंग्य गर्दै ‘दुखी आत्मा’ को संज्ञा दिएका छन् ।
मेयर बालेन शाहको सम्भावित चुनावी क्षेत्रदेखि अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमसम्म नेकपा (एमाले) ले देखाएको सक्रियता र चिन्तालाई लिएर खत्रीले एमालेलाई ‘संसारको सबै दुःख बटुल्ने ठेक्का पाएको पार्टी’ को संज्ञा दिएका हुन् ।
खत्रीले मेयर बालेन शाह आगामी निर्वाचनमा झापाबाट लड्ने तयारीमा रहेको चर्चा गर्दै सामाजीक संजालमा लेखेका छन्, “बालेन झापाबाट चुनाव लड्ने तयारीमा– हार्छन् कि भन्ने चिन्ता एमालेलाई छ ।”
त्यस्तै, नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र सम्भावित फुटको प्रसङ्ग जोड्दै उनले भनेका छन्, “कांग्रेस फूट्यो–पीडा कांग्रेसीलाई हुनु पर्ने दुखी एमाले छ ।”
यता भेनेजुएलाका राष्ट्रपति पक्राउको विषयमा एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेको सन्दर्भ उल्लेख गर्दै उनले लेखेका छन्, “भेनेजुएलाका राष्ट्रपति पक्राउ पर्छन–रिहाईको माग गर्दै प्रदर्शन एमाले गर्छ । संसारको सबै दुःख बटुल्ने ठेक्का एमालेले पाए जस्तो ।”
उनले एमालेलाई ‘दुखी आत्मा’ को संज्ञा दिँदै लेखेका छन्, “हरे ! दुखी आत्मा । तर बच्चालाई गोली ठोकेकोमा भने यिनलाई कति पनि दुःख छैन । ”
