राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ बाट आज प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने भएका छन् ।
जनकपुरधाममा रास्वपाको चुनावी कार्यक्रम सकेर हिजो राति नै झापा पुगेका बालेन आज बिहान मनोनयन दर्ता गर्न लागेका हुन् । बालेनले जनकपुरमा आयोजित सभामा ठूलो जनसागरलाई सम्बोधन गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका थिए ।
कार्यक्रमपछि उनी झापातर्फ लागेका थिए । आज झापा ५ बाट उनले ¥यालीसहित मनोनयन दर्ता गर्ने तयारी रहेको बताइएको छ ।
यसैबीच, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि झापामा नै छन् । ओली हिजो दिउँसो चन्द्रगढी विमानस्थल हुँदै दमक पुगेका थिए । उनी आज दिउँसो करिब १ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
झापा–५ ओलीको गृहक्षेत्र मानिन्छ, तर बालेनको प्रवेशले युवा तथा नयाँ पुस्ताको समर्थन जुटाउने अपेक्षा गरिएको छ । जनकपुरबाट फर्किएपछि बालेनले झापामा चुनावी रणनीति तयार पार्दै ठूलो ¥यालीको तयारी गरेका छन् ।
यो क्षेत्रमा बालेन र ओलीबीचको प्रतिस्पर्धा निर्वाचनको सबैभन्दा चर्चित मुकाबला बन्ने देखिएको छ ।
