काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार गरेको छ । निर्वाचनमा हुने खर्च पारदर्शी बनाउन आयोगले उम्मेदवारहरूको छुट्टै खाता खोल्ने व्यवस्था मिलाइदिन भनेको हो ।
निर्वाचन आयोग ऐन, ०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने र कारोबार गर्दा सोही खातामार्फत गर्नुपर्ने उल्लेख भएको बताइएको छ ।
त्यस्तै आयोगले उम्मेदवारको तर्फबाट खर्च गर्ने पदाधिकारी तोक्नुपर्ने र तीनको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने व्यवस्था छ । आयोगले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा वित्तीय संस्थामार्फत कारोबार गर्नुपर्ने र नगद लिएमा रकम बुझेको रसिद वा भरपाई पनि बुझाउनुपर्ने भनेको छ ।
