काठमाडौं । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि आइतबार सर्लाही जाने भएका छन् । उनी आइतबार आफूले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् ।
सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा आफू जिल्ला जान लागेको जानकारी दिए । सभापति थापाले सर्लाही–४ का युवाको भर परेर आफूले जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको पनि जिकिर गरे ।
सभापति थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही गइदिन पनि आग्रह गरे । युवाको भर परेर आफू सर्लाही–४ बाट निर्वाचन लड्ने मनस्थितिमा पुगेको उनको भनाइ थियो । उनले काठमाडौं ४ का मतदातालाई धन्यवाद दिदैं आँट गरेर सर्लाही जान लागेको बताएका छन् । उनले आफुले जीवनभर गुन तिर्न नसक्ने समेत बताएका छन् ।
थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको थियो ।
