काठमाडौं । नेपाली राजनीति यतिबेला निर्वाचनमय मात्र छैन, यो एउटा यस्तो निर्णायक मोडमा उभिएको छ जहाँ ’पुरानो विरासत’ र ’नयाँ जोस’ बीचको वारपारको लडाइँ हुँदैछ। विशेषगरी सर्लाही–४ यतिबेला देशकै राजनीतिको चर्चा र चाँसोको क्षेत्र बनेको छ । काठमाडौँको सुरक्षित किल्ला मानिने क्षेत्र नं. ४ छाडेर कांग्रेस सभापति गगन थापा सर्लाही झर्नुले नयाँ शक्तिको राप र तापले पुराना हस्तीहरूलाई आफ्नो थातथलो सुधार्न बाध्य पारेको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको सर्लाही आगमनलाई धेरैले रास्वपा लक्षित ’काउन्टर रणनीतिका’ रूपमा बुझेका छन्। कतिपयले गगनको यो कदमलाई मधेशमा कांग्रेसको पुनरोदयका रुपमा हेरेका छन् भने कतिपयले रास्वपाको बढ्दो लहरलाई रोक्ने एउटा अन्तिम प्रयास भनिरहेका छन् । रास्वपाले काठमाडौँका सफल निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) लाई वरिष्ठ नेताका रूपमा मधेशमा उतारेपछि त्यहाँको चुनावी समीकरण एकाएक बदलिएको छ। बालेनको मधेश उपस्थिति र क्रेजले अहिले पुराना पार्टीका ’हेभिवेट’ उम्मेदवारहरूको निन्द्रा हराम भएको देखिन्छ।
सर्लाही–४ मा यसअघि स्वतन्त्र रूपमा ’ह्याट्रिक’ गरिसकेका डा. अमरेश कुमार सिंह यसपटक रास्वपाको ’घण्टी’ लिएर मैदानमा छन्। अमरेशको बलियो आधार र रास्वपाको नयाँपन मिसिँदा गगन थापाका लागि यो यात्रा सोचेजस्तो सहज पक्कै छैन।
यसअघि २०७९ को निर्वाचनमा दलीय गठबन्धनका विरुद्ध एक्लै लडेर जितेका अमरेशको आत्मविश्वास र रास्वपाले अघि सारेको ’प्रधानमन्त्रीका रूपमा बालेन’ को कार्डले मधेशी मतदातामा नयाँ आशा जगाएको छ। गगन थापाले मधेशमा कांग्रेसको विरासत फर्काउने दाबी गरिरहँदा, रास्वपाले भने ’विरासत होइन, निकास’ भन्दै जनतालाई नयाँ विकल्प दिएको छ।
पुराना अनुहारलाई ससम्मान बिदाइ गर्ने र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने रास्वपाले नीति लिएको छ । जेनजी आन्दोलनपछि पार्टीभित्रैबाट विद्रोह गरेका गगन थापा पनि पार्टीको सभापति नै बनेर कांग्रेस बदलिएको र अव देश बदल्ने भन्दै मधेश यात्रामा निस्किएमा छन् । रास्वपाले पुराना राजनीतिक खेलाडीहरूलाई विस्थापित गर्दै नयाँ नेपालको खाका कोर्ने संकल्प लिएको छ। यता थापा पनि फेरिएको कांग्रेसको नारा बोकेर चुनावी मैदानमा छन् । त्यसैले पनि फागुन २१ को निर्वाचन रास्वपा भर्सेस कांग्रेस र रवि भर्सेस गगनको लडाई हुने आँकलन हुन थालेकोछ ।
२०७९ को तथ्यांक हेर्दा कांग्रेसका उम्मेदवार र अमरेश सिंह बीचको मतान्तर निकै कम थियो। त्यतिबेला रास्वपाको उपस्थिति मधेशमा न्यून थियो। तर, अहिले समय बदलिएको छ। ’जेनजी’ आन्दोलन र सामाजिक सञ्जालको प्रभावले युवा मतदाताहरू खुलेरै परिवर्तनको पक्षमा उभिएका छन् ।
कांग्रेसका लागि सर्लाही–४ आफ्नो पुरानो साख जोगाउने प्रतिष्ठाको विषय बनेको छ भने रास्वपाका लागि मधेशमा आफ्नो जरा गाड्ने र राष्ट्रिय राजनीतिमा नयाँ अध्याय सुरु गर्ने स्वर्णिम युगको सुरुवात जस्तै हो ।
लोप्रियता र क्रेजले मात्रै चुनाव जितिँदैन, तर यो पनि सत्य हो कि जनता अब ’भोट बैंक’ मात्र बन्न तयार छैनन्। गगन थापाको अनुभव र रवि, बालेन–अमरेशको नयाँ जोस बीचको लडाइँका रुपामा अथ्र्याउन थालिएको छ । मधेशबाटै चुनावी अभियान सुरु गरेका रवि बालेन र पार्टीभित्रै विद्रोह गरेका गगन थापा कसको पल्लाभारी होला यसै भन्न सकिन्न । तर मधेश प्रदेशमा देखिएको घण्टी लहरले भने यसपटक ’पुरानो अनुहार’ को मोहभन्दा ’नयाँ आशा’ को सुगन्ध बढी मन पराएको देखिन्छ।
कांगेसका विद्रोही गगन, आशा जगाउँदै गरेका रवि–बालेन : मधेशमा कसको होला पल्लाभारी ?
कांगेसका विद्रोही गगन, आशा जगाउँदै गरेका रवि–बालेन : मधेशमा कसको होला पल्लाभारी ?
तपाईको प्रतिक्रिया
