काठमाडौँ । आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहेका सात प्रदेशका ३० जना सांसद मतदानमा सहभागी नभएको पाइएको छ । यद्यपि निर्वाचन आयोगले ९५.६८ प्रतिशत मत खसेको जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहने गरेका छन् । निर्वाचन आयोगका अनुसार आइतबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९२ प्रदेशसभा सदस्यमध्ये ८७ सदस्य मात्र मतदानमा सहभागी भएका छन् ।
त्यस्तै, मधेस प्रदेशका एक सय सदस्यमध्ये ९९ सदस्य मतदानमा सहभागी भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशका प्रदेश सांसद मतदानमा सहभागी भएनन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बागमतीमा रहेका १०४ जना प्रदेश सांसदमध्ये ८९ जना सांसद मात्र मतदानमा सहभागी भएका छन् ।
त्यस्तै गण्डकीमा रहेका ५९मध्ये ५७ जना सांसद मतदानमा सहभागी हुँदा लुम्बिनीका ८३ मध्ये ७८ जना मतदानमा सहभागी भएका छन् । त्यसैगरी कर्णालीका ४० मध्ये ३९ जना र सुदूरपश्चिमका ५१ मध्ये ४९ जना मात्र मतदानमा सहभागी भएका छन् ।
