काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन युवा आकांक्षाको बेवास्ता, भ्रष्टाचार र राज्य सञ्चालनमा देखिएको संवेदनहीनताविरुद्धको विद्रोह भएको बताएकी छन् । राष्ट्रिय सभाको बैठकमा शुक्रबार सम्बोधन गर्दै उनले आन्दोलनलाई शासकीय त्रुटि र आचरणगत कमजोरी देख्ने ऐनाको संज्ञा दिइन्। कुनै शासकीय आकांक्षा र पदको लालसा नलिई परिवर्तनकामी युवा पुस्ताको आग्रह र राजनीतिक दलसँगको छलफलपछि संवैधानिक व्यवस्था ट्र्याकमा ल्याउन प्रधानमन्त्री बनेको उनले बताइन्।
फागुन २१ गते स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार आतुर रहेको उनको भनाइ छ। प्रधानमन्त्री कार्कीले सूचना प्रविधिमा भएको विकासबारे जानकार नेपाली युवाले राज्यका स्रोत साधनमा समान पहुँच, रोजगारी र गुणस्तरीय जीवनको आकांक्षा राखेको उल्लेख गरिन्। यी आकांक्षा पूरा गर्न कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै अंग जिम्मेवार भई लागिपर्न निकै ढिलाइ भइसकेको उनको भनाइ थियो।
फागुन २१ को निर्वाचनका लागि उम्मेदवारको मनोनयन सम्पन्न भइसकेको छ। आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद भएको र एकीकृत निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री कार्कीको भनाई छ । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको उत्साहजनक सहभागिताले नेपाली जनताको लोकतन्त्रप्रतिको आस्था र विश्वास देखाएको कार्कीको भनाइ छ ।
