काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब सत्ताका लागि जोसँग पनि नमिल्ने बताएका छन्। बुधबार भिडिओ सन्देश जारी गर्दै विगतका कमिकमजोरीको समीक्षा गर्दै कांग्रेस बदलिएको बताए। कांग्रेसलाई बदल्न धेरै मेहेनत गर्नु परेको उनको भनाइ छ। कांग्रेस बदलिएको मतलब अनुहार मात्रै नफेरिएको उनको जिकिर छ। ‘यो पुरानो कांग्रेस होइन नयाँ, बदलिएको कांग्रेस हो। बदलिएको भनेको एउटा अनुहार, नेतृत्वको अनुहार मात्र बदलिएको होइन,’ थापाले भनेका छन्।
अब बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि नमिल्ने उनको भनाइ छ। ‘बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिल्यै पनि राख्दैन। सिद्धान्तसँग सम्झौता गर्नुपरे बरू यसले छाड्छ। जे छाड्न परे त्यो छाड्छ। सत्तामा पुग्न र सत्ता टिकाउनका लागि जे पनि गर्ने र जोसँग पनि मिल्ने यसले गर्दैन,’ थापाले भनेका छन्।
बदलिएको कांग्रेस भनेको पुरानासँग अलग भएको भन्ने अर्थ नलगाउन पनि उनले आग्रह गरेका छन्। कांग्रेसका आधारस्तम्भ अंगिकार गर्ने उनले बताएका छन्। कांग्रेसले जेनजीका मुद्दा सम्बोधन गर्ने बताएका छन्। जेनजीका मुद्दा अनुसार कांग्रेस बदलिएको अब कार्यान्वयनका लागि सरकारमा जाने अवसर पाउने उनको विश्वास छ। कांग्रेसले युवालाई विश्वासमा लिएर अघि बढ्ने उनले जिकिर गरेका छन्।
