काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पु¥याउन सके २१ फागुनमा हुने निर्वाचनमा पार्टीले शानदार परिणाम ल्याउने दाबी गरेका छन् । शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सो दाबी गरेका हुन् । उनले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोहीअनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरे ।
उनले विगतको निर्वाचनमा काँग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको सन्देशबारे जानकारी दिनुपर्ने बताए । उनले जेनजी नवपुस्तासँग समेत छलफल गर्नेगरी आफूहरु अघि बढिरहेको बताए। उनले पार्टीभित्र रहेको असन्तुष्टि र मतभिन्नताको समस्या समेत निर्मुल हुँदै गइरहेको बताए । उनले निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायतसँग निरन्तर संवाद भइरहेको पनि बताए।
उनले भने,‘आजको दिनको हाम्रो सन्देश मात्रै ठिक ढंगले घरघरमा पु¥याउनसक्ने हो भने नेपाली कांग्रेस पार्टीले सानदार परिणाम ल्याउने कुरा कसैले रोक्न सक्दैन । भइसक्यो भन्ने हैन । यो तपाईं र ममा भर पर्छ । तल मतदाता छन् । ती मतदाता आजको दिनमा के सोचिरहेका छन् । २७ लाख मतदाताले अघिल्लो निर्वाचनमा हामीलाई मत हालेका हुन् हामीसँग रिसाएकै बेलामा । ती मतदातासँग आज गएर एकचोटि गएर बुझाउँदाखेरी पुग्छ । कम्तिमा ४,५ लाख मतदाताले अघिल्लो पटक कांग्रेसलाई मत हाल्छु भन्ने ठानेको तर हाम्रा केही निर्णयसँग चित्त नबुझाएर मत नहालेको हो । ती सबैलाई हामीले भेटेर सम्झाउनुपर्ने छ । नवपुस्तासँग पनि हामीले भेट्नुपर्ने छ । सबैजनाले उम्मेदवारजस्तै खटिएर हाम्रो सन्देश पु¥याउँदै गर्दा यो निर्वाचनमा सबैभन्दा सानदार परिणाम ल्याउने कुरामा हामीलाई कसैले रोक्न सक्दैन ।’ अबको सरकार कांग्रेसको मात्रै नभनी ‘अबकी बार सय पार’का नारा लगाउन समेत कार्यकर्तालाई सभापति थापाको आग्रह छ ।
