काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निकाल्न सकेन ।
साम करानको पहिलो बलमा डट खेलेका लोकेशले दोस्रो बलमा १ रन जोडे । करण केसीले पनि १ रन लिएर लोकेशलाई स्ट्राइक दिए । लोकेशले त्यसपछि २ रन लिए । त्यसपछि एक बल डट भयो भने अन्तिम बलमा ६ रन चाहिँदा १ रन मात्र आयो । १८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगत्तै छैटौं ओभरमा कुशल भुर्तेललाई पनि गुमायो । भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २९ रन जोडे ।
दुवै ओपनर आउट हुँदा नेपाल ४२–२ को स्थितीमा थियो । त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । यो साझेदारीले इंग्लयाण्डलाई कुनै बेला दबामा राखेको थियो । तर १५औं ओभरमा दीपेनेद्रलाई साम करनले आउट गरेपछि नेपालले तेस्रो विकेट गुमायो । नेपालक लागि टी२०आईमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का मदतमा ४४ रन बनाए ।
लगत्तै कप्तान रोहित पनि ३९ रन बनाएर आउट भए । ३४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेखले ८ बलमा १० रन बनाए । बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।
बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
