काठमाडौं । सिरहा कारागार सोमबार दिनभर तनावग्रस्त बनेको छ। कारागारभित्र अवैध गतिविधि भइरहेको विशेष सूचनाका आधारमा जिल्ला सुरक्षा समितिले गरेको अप्रेशनका क्रममा हतियार र नगद बरामद भएपछि स्थिति बिग्रिएको हो।
जिल्ला प्रशासन कार्यालय र प्रहरीको टोलीले सोमबार बिहान गरेको छड्के अनुगमनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद फेला पारेको थियो। अनुगमन टोलीले त्यहाँबाट मदिरा, लागुऔषध, मोबाइल फोन र ठूलो परिमाणमा चुरोट र सुर्तीसमेत जफत गरेको छ।
प्रशासनले अवैध गतिविधिमा संलग्न रहेको र भाग्ने योजना बनाएको आरोपमा नाइके यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएपछि यादव पक्षका कैदीबन्दीहरू आन्दोलित भएका हुन्। उनीहरूले कारागारभित्रै सिरक तथा लुगाफाटामा आगजनी गर्नुका साथै भौतिक संरचनामा तोडफोड गरेका छन्। स्थिति नियन्त्रण बाहिर जान नदिन कारागार बाहिर र भित्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ठूलो टोली परिचालन गरिएको छ।
