काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको उल्लेख गरे ।
साथै, पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन पनि दिए । प्रचण्डले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पारे ।
‘मैले के देखिराखेको छु भने अहिले सोसल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन । सोसल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौं हामीले । पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ ।’ प्रचण्डले भने, ‘भ्रम मुक्त भए यहाँ त, यहाँ लडेर त हेरे नि नेताहरूलाई के गरे के गर्न सक्दा रहेछन्, सक्दा रहेनछन् भन्ने हेरिसक्या हुनाले त्यस्ता ठाउँमा यी सब स्टन्टबाजहरू, यी हल्लाखोरहरू हुन् भन्ने बुझे जनताले । अब जहाँ बुझ्न पा छैनन् विचरा त्यहाँ चाहिँ फेरि त्यसको प्रभाव देखिएको छ । त्यसकारण त्यो प्रभावलाई पनि तर्कद्वारा खण्डन गरेर हामीले स्थापित गर्नु छ ।’
प्रचण्डले उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रम मुक्त भइसकेको दाबी पनि गरे । राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको प्रचण्डको तर्क छ ।
