काठमाडौँ । रामशाह पथस्थित ऐतिहासिक पद्मोदय माध्यमिक विद्यालयले आफ्नो ८० औँ वार्षिकोत्सव समारोहको पूर्वसन्ध्यामा बिहीबार विभिन्न रचनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले आगामी फागुन २९ गते मनाइने मुख्य वार्षिकोत्सवको तयारी स्वरूप विद्यार्थीहरूको मानसिक र व्यक्तित्व विकासका लागि ’विद्यार्थी खुसी अभियान’ अन्तर्गत यी कार्यक्रमहरू आयोजना गरेको हो।
पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीहरूको हकहितका लागि प्रधानाध्यापक डा. शर्मिला पोखरेलले चाल्नुभएका कदमहरूको कार्यक्रमका वक्ताहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए। स्वागत मन्तव्यका क्रममा डा. पोखरेलले सम्पूर्ण शिक्षक टिम र विद्यार्थीहरूलाई खुसी र प्रोत्साहित राख्न यसै वर्षदेखि ’विद्यार्थी खुसी अभियान’ सुरु गरिएको बताउनुभयो।
सोही क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रूपक तण्डुकारले विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा आफूहरू दत्तचित्त भएर लागेको बताउनुभयो।
उहाँले भन्नुभयो, “विद्यार्थीहरूको मुस्कान नै विद्यालयको सफलता हो। तसर्थ, ’विद्यार्थी खुसी अभियान’ लाई आगामी दिनमा अझ प्रभावकारी र परिष्कृत बनाउँदै लैजानेछौँ। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि थप नयाँ र रचनात्मक कार्यक्रमहरू ल्याउन हामी प्रतिबद्ध छौँ।” उहाँको नेतृत्व र प्रअको कुशल समन्वयमा पद्मोदयलाई एक उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न खेलिएको भूमिका प्रशंसनीय रहेको सहभागीहरूले बताए।
पूर्वसन्ध्या समारोहकै अवसरमा दिउँसो ११ः३० बजेदेखि अन्तर–विद्यालय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितामा पद्मोदयका पूर्व विद्यार्थी तथा चर्चित हास्यकलाकार मनोज गजुरेलको विशेष उपस्थिति रहेको थियो। प्रतियोगितामा ऋत एकेडमी बसुन्धरा, कोटेश्वर सरस्वती मा.वि., अर्बाना मा.वि., शान्ति विद्या गृह र जनकल्याण मा.वि. लगायतका विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
अत्यन्तै प्रतिस्पर्धात्मक रहेको उक्त प्रतियोगिताको नतिजा यस प्रकार रहेको छः
प्रथमः ऋत एकेडमी, बसुन्धरा (रु. १०,०००– नगद र स्वर्ण पदक)
द्वितीयः शान्ति विद्या गृह (रु. ७,०००– नगद र रजत पदक)
तृतीयः जनकल्याण माध्यमिक विद्यालय (रु. ५,०००– नगद र कास्य पदक)
सान्त्वनाः ग्लोबल कलेज अफ म्यानेजमेन्ट र अवनी स्कुल (जनही रु. ३,०००– नगद)
विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गी, विशिष्ट अतिथि मनोज गजुरेल र अध्यक्ष रूपक तण्डुकारले पुरस्कार तथा पदक वितरण गर्नुभएको थियो। यसअघि बिहान ८ः०० बजे वडा अध्यक्ष खड्गीकै प्रमुख आतिथ्यतामा विद्यालयको आन्तरिक फुट्सल प्रतियोगिताको पुरस्कार वितरण समेत गरिएको थियो।
वार्षिकोत्सवको सन्दर्भमै विद्यालयले फागुन १ गते बिहान १०ः०० बजेदेखि विद्यालय प्राङ्गणमा ’बृहत् स्वास्थ्य शिविर’ आयोजना गर्दैछ।
शिविरमा आँखा, मुटु तथा पाठेघरको क्यान्सर परीक्षण जस्ता महत्वपूर्ण सेवाहरू निःशुल्क उपलब्ध हुने भएकाले सम्पूर्ण विद्यार्थी, अभिभावक र स्थानीय समुदायलाई सहभागी भई स्वास्थ्य लाभ लिन विद्यालय परिवारले हार्दिक निमन्त्रणा गरेको छ।
