काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले देशमा ‘डिप स्टेट’ को जगमा नयाँ राजनीतिक शक्तिहरू उदाएको गम्भीर आरोप लगाएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले काठमाडौँ महानगरका मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र कांग्रेस महामन्त्री गगन थापालाई पश्चिमा शक्तिको एजेन्टको संज्ञा दिँदै देशलाई युक्रेन बनाउने खेल भइरहेको दाबी गरेका हुन् ।
उनले आगामी फागुन १ गते राजा ज्ञानेन्द्रलाई स्वागत गर्न निषेधाज्ञा तोडेर एयरपोर्ट जान समर्थकहरूलाई आह्वान समेत गरेका छन् । प्रसाईंले पत्रकार सम्मेलनमा विभिन्न भिडियो क्लिपहरू देखाउँदै नेपालमा ‘नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी’ (एनइडी) र पश्चिमा शक्तिको नाङ्गो हस्तक्षेप भइरहेको जिकिर गरे ।
उनले नेपालका पढेलेखेका र आफूलाई एलिट वर्ग ठान्नेहरू नै यो ‘डिप स्टेट’ को मतियार बनेको आरोप लगाए । प्रसाईंले सार्वजनिक गरेको भिडियो र मन्तव्यमा बालेन शाहजस्ता पात्रहरू विदेशी फन्डिङमा परिचालित भएको र उनीहरूले नेपालमा सामाजिक सञ्जालको एल्गोरिदम कब्जा गरेर जनमतलाई भ्रमित पारिरहेको दाबी गरियो ।
प्रसाईंले सन् २०१३ र १४ देखि नै नेपालमा ‘फ्री तिब्बत’ को एजेन्डा स्थापित गर्न पश्चिमाहरूले लगानी गरिरहेको दाबी गरे छन् । उनले अहिलेका नयाँ राजनीतिक दल र पात्रहरूलाई प्रयोग गरेर नेपालको हिमाली क्षेत्रमा नयाँ दलाई लामा जन्माउने र चीन विरुद्ध नेपाललाई प्रयोग गर्ने रणनीति बनिरहेको दाबी गरे ।
उनले गोविन्द केसीको अनसनदेखि विवेकशील साझाको उदयसम्म सबै पश्चिमाहरूको १३ वर्ष पुरानो गुरुयोजना भएको तर्क गरे । उनले युक्रेनमा जेलेन्स्कीलाई जसरी सामाजिक सञ्जालबाटै ‘हिरो’ बनाएर देशलाई युद्धमा धकेलियो, नेपालमा पनि त्यही मोडलमा बालेन र रविहरूलाई अघि सारिएको आरोप लगाए ।
प्रसाईंले देशको अस्तित्व जोगाउन अब राजसंस्थाको विकल्प नभएको भन्दै फागुन १ गते राजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्लिन अपिल गरे । काठमाडौँ प्रशासनले तोकेको निषेधित क्षेत्रको प्रवाह नगरी घेरा तोडेर जाने चेतावनी उनले दिए ।
