काठमाडौं । नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा साढे तीन दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको आइएमई ग्रुपले सुदूरपश्चिम प्रदेशमा आफ्नो लगानीलाई तीव्रता दिएको छ। लगानीलाई केवल व्यवसाय विस्तार मात्र नभई राष्ट्र निर्माणप्रतिको विश्वास र भविष्यप्रतिको प्रतिबद्धता मान्ने आइएमई ग्रुपले विकासका दृष्टिले अपार सम्भावना बोकेको यस प्रदेशमा ठूला परियोजनाहरू अघि बढाएको हो। बैंकिङ, रेमिट्यान्सदेखि पूर्वाधारसम्म फैलिएर ७७ वटै जिल्लाका नागरिकसँग जोडिएको यस ग्रुपले अब सुदूरपश्चिमको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा दूरगामी प्रभाव पार्ने विश्वास लिइएको छ।
यसै अभियानअन्तर्गत स्थानीय साझेदारहरूसँगको सहकार्यमा कैलालीको चिसापानीमा निर्माणाधीन ’जालपादेवी केवलकार’ तथा पाँचतारे होटल र रिसोर्ट निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। आगामी दुई महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यस बहुउद्देश्यीय परियोजनाले सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक पर्यटनलाई नयाँ उचाइमा पु¥याउनेछ। यसबाट स्थानीय उत्पादनको बजारीकरण हुनुका साथै होटल, यातायात, कृषि, हस्तकला तथा साना उद्यमहरू चलायमान हुनेछन्। यो परियोजना सञ्चालनमा आएसँगै हजारौं स्थानीय नागरिकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीको अवसर प्राप्त गर्नेछन्।
यसका साथै, आइएमई ग्रुपले सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाहरूमा समेत औद्योगिक क्रान्तिको तयारी थालेको छ। बैतडीमा सिमेन्ट उद्योग र बझाङमा जलविद्युत् आयोजना अघि बढाउने दिशामा आवश्यक अध्ययन तथा तयारी तीव्र रूपमा भइरहेको छ। हालै मात्र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कैलाली, अछाम, डडेलधुरा, बैतडी हुँदै बझाङसम्म स्थलगत भ्रमण गरेका छन् । भ्रमणका क्रममा सुदूरपश्चिममा पर्यटन, उद्योग, ऊर्जा र पूर्वाधार विकासको अपार सम्भावना रहेको ढकालको भनाई छ ।
अध्यक्ष ढकालको योजना र दीर्घकालीन सोचअनुरूप सुदूरपश्चिममा जलविद्युत् र सिमेन्ट उद्योग सञ्चालनमा आएको खण्डमा त्यहाँ भौतिक संरचना मात्रै खडा हुने छैनन्, विकास र समृद्धिको नयाँ ढोकासमेत खुल्नेछ। यी परियोजनाहरूले पूर्णता पाउँदा विकट मानिने बझाङ र बैतडीजस्ता जिल्लाका हजारौं युवाहरूले रोजगारीका लागि बिदेसिनुपर्ने वा घर छोड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। उनीहरूले आफ्नै गाउँठाउँ र आँगनमै रोजगारी पाउनेछन्। लगानी त्यहीँ पुग्छ जहाँ सम्भावना, विश्वास, सहकार्य र सकारात्मक वातावरण हुन्छ भन्ने मान्यता राख्ने आइएमई ग्रुपको यो कदमले सुदूरपश्चिममा थप निजी लगानी आकर्षित गर्न अत्यन्त सकारात्मक सन्देश दिएको छ।
