काठमाडौं, साउन १६: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले राइट संचार डट कममा प्रकाशित तथा प्रसारित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचारका विभिन्न विषयवस्तुप्रति असहमति व्यक्त गरेको छ । शिक्षण अस्पतालले यही साउन १३ गते राइट संचारलाई दुई पृष्ठको आधिकारिक खण्डनपत्र पठाउँदै स्वास्थ्य बिमा सेवा सञ्चालन, बिरामी उपचार तथा अस्पताल प्रशासनसँग सम्बन्धित समाचारका कतिपय अंश तथ्यपरक नभएको दाबी गरेको हो ।
अस्पतालले २०८३ असार १८ गते राइट संचार डटकममा प्रकाशित ‘सरकारी अस्पतालमा लुटधन्दा, मरेको बिरामीको नाममा ५० हजारको बिल’ शीर्षकको समाचार तथा राइट संचारको युट्युब च्यानलमार्फत प्रसारित ‘सरकारी ढुकुटीमा सरकारी अस्पतालकै लुटधन्दा, एउटै व्यक्तिको २९ पटक मिर्गौला जाँच’ शीर्षकको भिडियो सामग्रीप्रति आफ्नो असहमति जनाएको हो । अस्पताल प्रशासन प्रमुख भोजराज भट्टद्वारा हस्ताक्षरित खण्डनमा समाचारमा प्रयोग गरिएका केही वाक्यांश र निष्कर्षहरूले वास्तविक अवस्थालाई प्रतिनिधित्व नगरेको उल्लेख गरिएको छ ।
अस्पतालले बिरामीको उपचार नगरी बिरामीको नाम प्रयोग गरेर राज्यकोषबाट करोडौं रुपैयाँ असुल गरेको, अस्पताल प्रशासनले सञ्चारमाध्यमलाई दबाब दिएको तथा स्वास्थ्य बिमा सेवा बन्द गरेको भन्ने आशयका विषयवस्तु तथ्यमा आधारित नभएको दाबी गरेको छ ।
खण्डनमा स्वास्थ्य बिमा कार्यक्रमसँग सम्बन्धित अवस्थाबारे पनि अस्पतालले आफ्नो धारणा स्पष्ट पारेको छ । अस्पतालका अनुसार स्वास्थ्य बिमा बोर्डबाट उपचार बापत प्राप्त हुनुपर्ने ठूलो रकम लामो समयसम्म भुक्तानी नभएकाले अस्पताल आर्थिक रूपमा प्रभावित भएको थियो । त्यसका कारण स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा कठिनाइ उत्पन्न भएको अस्पतालको भनाइ छ । अस्पतालले उक्त समस्या समाधानका लागि स्वास्थ्य बिमा बोर्डसँग पटक–पटक पत्राचार, समन्वय तथा आवश्यक पहल गरिएको जनाएको छ । त्यसपछि बोर्डबाट अस्पतालले प्राप्त गर्नुपर्ने रकममध्ये आंशिक भुक्तानी भएपछि स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गरिएको खण्डनमा उल्लेख छ । अस्पतालले स्वास्थ्य बिमा सेवा स्थायी रूपमा बन्द नगरिएको र आर्थिक व्यवस्थापनसँग सम्बन्धित समस्याका कारण केही समय सेवा प्रभावित भएको स्पष्ट पारेको छ ।
त्यस्तै अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका क्रममा कुनै पनि प्रकारको गैरकानुनी लाभ लिने वा अनियमितता गर्ने कार्य नगरेको दाबी गरेको छ । समाचारमा उठाइएका विषयमा आवश्यक परे सम्बन्धित निकायबाट हुने छानबिनमा पूर्ण सहयोग गर्न आफूहरू तयार रहेको पनि अस्पतालले जनाएको छ । प्रकाशित समाचारका कारण अस्पताल, चिकित्सक तथा कर्मचारीहरूको व्यावसायिक प्रतिष्ठामा प्रतिकूल असर परेको, सेवाग्राही तथा सर्वसाधारणमा भ्रम सिर्जना भएको र अस्पतालप्रति नकारात्मक धारणा बन्न पुगेको खण्डनपत्रमा उल्लेख गरिएको छ ।
समाचारलाई एकपक्षीय रूपमा प्रस्तुत गरिएको दाबी गर्दै अस्पतालले यस्ता सामग्रीले संस्थाको छवि तथा स्वास्थ्यकर्मीहरूको मनोबलमा असर परेको जनाएको छ । शिक्षण अस्पतालले स्वास्थ्य बिमा सेवा निरन्तर सञ्चालन गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याउँदै बिमा बोर्डसँगको वित्तीय व्यवस्थापनसम्बन्धी समस्या समाधान हुँदै गएको र आंशिक भुक्तानी प्राप्त भइसकेपछि सेवा पुनः सञ्चालन भइसकेको स्पष्ट पारेको छ ।
साथै, सार्वजनिक स्वास्थ्य सेवा थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन अस्पताल प्रतिबद्ध रहेको उल्लेख गर्दै भविष्यमा पनि तथ्यमा आधारित सूचनालाई प्राथमिकता दिन सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।
