नेकपा(एमाले)मा सदस्यता नवीकरण गर्नेको संख्या विगतको तुलनामा घटेको छ ।
गत भदौको विधान महाधिवेशनमा ६ लाख ६७ हजार १ सय १४ जना सदस्य रहेकामा हालसम्म करिब ३ लाख ४० हजार अर्थात् ५१ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेका छन् ।
गत फागुनको निर्वाचनमा कमजोर नतिजा आएपछि पार्टीले सुदृढीकरण अभियानसँगै सदस्यता नवीकरण अघि बढाएको थियो । तर अपेक्षाअनुसार गति लिन सकेको छैन । नवीकरणको म्याद साउन मसान्तसम्म तोकिएको छ भने पार्टीले ८० प्रतिशतसम्म पु¥याउने लक्ष्य राखेको छ।
सदस्यता नवीकरणमा गिरावट आउनुका मुख्य कारण प्राविधिक समस्या, संगठन शुद्धीकरण अभियान, पार्टीप्रति असन्तुष्टि र निर्वाचन परिणामले कार्यकर्ता हतोत्साहित हुनु रहेको बताइएको छ ।
यसअघि एउटै नेताले सयौं सदस्य नवीकरण गर्ने प्रचलन थियो तर अहिले आफैं उपस्थित भएर अनलाइन वा कागजी फारम भरेर नवीकरण गर्नुपर्ने प्रावधान लागू भएपछि संख्या घटेको प्रदेश कमिटीहरूले जनाएका छन् ।
केही सदस्य निष्क्रिय, पार्टी छाडेका र मृत्यु भएकाले पनि प्रभाव परेको छ ।
प्रदेशगत रूपमा बागमती प्रदेशमा करिब ५९ प्रतिशतले नवीकरण गरेका छन् भने सुदूरपश्चिममा सबैभन्दा कम करिब २७ प्रतिशत मात्र छ । मधेशमा करिब ५० प्रतिशतले सदस्यता नविकरण गरेका छन् ।
