काठमाडौं । भोली श्रावण २८ गते विहीबार देउवा नेपाल आउँदै छन् । यही बिचमा सर्वोच्च अदालतद्वारा कांग्रेस आधिकारिकता विवादमा पुनरावलोकनको निस्सा दिने निर्णय र असन्तुष्ट पक्षको राष्ट्रिय भेला एकै समयमा हुनुले विभिन्न शङ्का उपशंकाहरु फेरी देखिन थालेका छन् । तर देउवाको फिर्ती कति सहज होला त ? के देउवा सहजै निवास पुग्न पाउँछन्, वा विमानस्थलबाटै प्रहरीले देउवालाई नियन्त्रणमा लेला ? भव्य स्वागतको तयारी गरेको देउवा समुहका तयारीले पूर्णता पाउलाकी नपाउँला ? देउवा स्वदेश फर्कदै गर्दै प्रहरीको आन्तरिक तयारी कस्तो छ ? आउनु आजको भिडियोमा देउवाको स्वदेश फिर्तीका बारेमा विस्तृतमा चर्चा गरौं ।
००००
२०८३ भाद्र २३ र २४ को जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमणमा परेका देउवा उपचारका लागि दुई पटक सिंगापुर पुगे । पछिल्लो पटक सिंगापुर उडेको पाँच महिनापछि देउवा बिहिवार स्वदेश फर्कदै छन् । जेनजी आन्दोलनकै जगमा भएको उथलपुथलपछि फागुन २१ गतेको निर्वाचनको ठीक एक हप्ता अगाडि देउवा दोस्रो पटक सिङ्गापुर हानिए । त्यसक्रममा उनी उपचारकै लागि हङकङ समेत पुगेका थिए । देउवा यति लामो समेत विदेश उपचारका लागि बसेको भन्दा पनि उनी नेपालमा पक्राउ पर्ने डरले नेपाल नआएको अनुमान धेरैको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रातारात सरकारले पक्राउ गरेको घटनाले देउवा दम्पतिको विदेश वसाई लम्बिएको हो ।
पछिल्लो पटक सिआइबीले देउवालाई पक्राउ गर्नका लागी इन्टरपोलबाट रेड नोटिस जारी गर्ने प्रयास नगरेको होइन् । तर इन्टरपोलले आवश्यक प्रमाण नपुगेको भन्दै रेड नोटिस जारी गरेन् । त्यसमाथि जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी सर्वोच्चले खारेज गरेपछि देउवाको स्वदेश फिर्ती सहज भएको देखिन्छ । बिहिबार हुने देउवाको फिर्तीलाई लिएर नेपाली कांग्रेस संस्थापन इत्तर समुहले भव्य स्वागतको तयारी गरेको छ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले देउवाको स्वागतका लागि पाँच हजार कार्यकर्ता विमानस्थलमा पुग्ने र देउवालाई मानव साङ्लोकावीच गन्तव्यमा पुर्याउने बताएका छन् । उनले देउवालाई राज्यले धरपकड गर्ने प्रयास गरेको खण्डमा त्यसको कडा प्रतिकार गर्ने चेतावनी पनि दिएका छन् । यसबाट सहजै अनुमान लगाउन सकिन्छ, की देउवाको स्वागतका लागि आन्तरिक तयारी निकै बलियो बनाइएको छ ।
यसअघी देउवा साउन २६ गते नेपाल आउने तयारी थियो । तर देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता सहभागी गराउने तयारी भएपछि देउवाको उडान तालिका परिवर्तन गरिएको थियो । २६ साउन राति ९ः४५ बजे काठमाडौं अवतरण गर्ने भनिएका देउवा अव २८ साउनमा थाई एयरलाइन्सको उडानमार्फत दिउँसो १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्। देउवाको स्वागतका लागि कार्यकर्ताहरुलाई दिउँसो १२ बजेअघि नै विमानस्थल पुग्न उर्दी जारी गरिएको छ ।
देउवा विदेशमै रहेका बेला उनी विरुद्ध पक्राउ पुर्जी जारी गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संयुक्त रूपमा अनुसन्धान सुरु गरेको थियो । सरकारले २४ चैतमा देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी ग¥यो । नेपालबाहिर रहेकाले नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत रेड कर्नर नोटिस जारी गर्न पत्राचार गरिएको थियो । तर, इन्टरपोलले देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्कार ग¥यो । पक्राउ पुर्जीविरुद्ध देउवा दम्पतीले आफ्ना वारेसमार्फत दायर गरेको रिटमा सर्वोच्च अदालतले उनीहरूलाई पक्राउ नगर्न र नगराउन अन्तरिम आदेश दिएपछि अहिले देउवा नेपाल फर्किन लागेका हुन् । नेपाल फर्किए लगत्तै देउवाले २९ देखि ३१ साउनका लागि तय भएको कांग्रेस असन्तुष्ट पक्षको भेलालाई सम्बोधन गर्ने तयारी छ ।
देउवाको डर
नेपाल फर्कदै गरेका देउवालाई आफु पक्राउ पर्न सक्ने डर भने छ । उनी हङकङमै हुँदा पनि उनले सरकारलाई सम्बोधन गर्दै दुई पेजको विज्ञप्ती जारी गर्दै प्रतिशोध नसाँध्न भनेका थिए । गत साउन ५ गते देउवाले जारी गरेको विज्ञप्तीमा ‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’ भनेका थिए । उनले जारी गरेको विज्ञप्तीले पनि देउवा आफु पक्राउ पर्नसक्ने डरको मानसिकताबाट गुज्रिरहेको प्रमाणित हुन्छ ।
के देउवा पक्राउ पर्छन ?
यसअघी नै देउवालाई पक्राउ गर्ने तयारी भएपनि विदेशमा भएकाले देउवा पक्राउ परेका थिएनन् । अव देउवा आफै नेपाल आउने भएपछि धेरैले देउवालाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्नसक्ने आकलन गरिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले देउवा पक्राउ पर्ने विषयमा स्पष्ट जवाफ दिएका छैनन् । उनले यो विषयमा बुझ्ने र समन्वय गर्ने काम भइरहेको बताएका थिए । देउवामाथिको अनुसन्धानका लागि उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गर्न सक्छ । लामो समय विदेश बसेर अनुसन्धानको दायरामा नआएका देउवालाई प्रहरीले पक्राउ गरेको खण्डमा उनीमाथि सम्पति सुद्धिकरण लगायतका मुद्दामा अनुसन्धान हुने निश्चित छ ।
सर्वोच्च अदालतले विभागले अवलम्बन गरेको ’बाटो ठिक भएन’ भनेपछिका घटनाक्रमबारे अनुसन्धान अधिकारीहरूले खुलाएका छैनन्। तर विभागले देउवा दम्पत्तिलाई बोलाएर बयान लिनसक्ने बाटो खुला नै छ । हालै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलसहितलाई प्रतिवादी बनाएर दायर गरेको आरोपपत्रमा प्रतिवादी दीपक भट्टको लगानी रहेको व्यापारिक संस्थाबाट पूर्वप्रधानमन्त्री देउवाका छोराको लगानीमा रहेको दुई कम्पनीमा २ करोड ६० लाख रुपियाँ भुक्तानी गरेको देखिएको पनि उल्लेख गरिएको छ। यद्यपी यस अघि नै सर्वोच्चले देउवालाई पक्राउ नगर्न आदेश गरेकाले प्रहरीले तत्कालै पक्राउ नगर्न पनि सक्छ ।
देउवामाथि अन्तिम अपेक्षा
देउवा अहिले पार्टी सभापति होइनन्, तर कांग्रेसभित्र उनको राजनीतिक हैसियत समाप्त भएको छैन। उनको अनुभव, विभिन्न धारका नेतासँगको सम्बन्ध र संकटका बेला सहमति खोज्ने क्षमताले अझै पनि उनलाई प्रभावशाली बनाइराखेको छ। त्यसैले अहिले धेरै नेता उनको प्रतिक्रियाको प्रतीक्षामा छन्। उनको एउटा अभिव्यक्तिले पनि पार्टीभित्रको सन्देश बदल्न सक्छ। यदि उनले कुनै स्पष्ट भूमिका लिएनन् भने विवाद अझ लम्बिन सक्छ।
यदि एउटा पक्षतिर मात्र खुलेर उभिए भने अर्को पक्षको अविश्वास बढ्न सक्छ। मध्यस्थता गर्न खोजेर पनि निष्कर्ष निकाल्न सकेनन् भने उनको राजनीतिक प्रभावमाथि पनि थप प्रश्न उठ्न सक्छ। अर्थात् यसपटक देउवाका लागि ’तटस्थ बस्ने’ विकल्प पनि धेरै सुरक्षित देखिँदैन।
साउन २८ पछि कांग्रेसभित्रको राजनीति नयाँ चरणमा प्रवेश गर्ने सम्भावना छ। देउवा कुन भूमिकामा देखिन्छन् भन्ने कुराले अहिलेको विवादको दिशा मात्र तय गर्ने छैन, आगामी महाधिवेशन, नेतृत्व हस्तान्तरण र पार्टीको एकताको आधार पनि प्रभावित पार्नेछ।
यस अर्थमा उनको स्वदेश फिर्ती एउटा सामान्य राजनीतिक कार्यक्रम होइन्, यो कांग्रेसभित्र शक्ति, विश्वास र नेतृत्वको पुनर्सन्तुलनको परीक्षा हो। अन्ततः देउवाको अगाडि एउटै ऐतिहासिक प्रश्न उभिएको छ– उनी एउटा गुटका संरक्षक बनेर इतिहासमा सम्झिइनेछन्, कि विभाजित कांग्रेसलाई फेरि एउटै ठाउँमा उभ्याउने मध्यस्थ नेताका रूपमा? यही प्रश्नको उत्तरले आगामी दिनमा नेपाली कांग्रेसको राजनीतिक यात्राको दिशा तय गर्न सक्छ र पूर्व सभापति देउवाको राजनीतिक सान्दर्भिकता पनि।
