काठमाडौँ। नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले बजारमा देखिएको ग्यासको अभावप्रति सरकार संवेदनशील भएर काम गरिरहेको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले ग्यासको सहज आपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काम गरिरहेको जानकारी दिएका हुन् ।
अघिल्लो महिना सबैभन्दा बढी परिमाणमा ग्यास आयात भए पनि बजारमा देखिएको अभावबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘विभिन्न ठाउँमा ग्यास सिलिन्डर वितरणको काम भइरहेको छ। कतिपय ठाउँमा चाहिनेभन्दा बढी ग्यास सञ्चित गरिएकाले पनि अभाव देखिएको हो।’
ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी रहेको र स्थिति बिस्तारै पूर्ण रूपमा सहज हुँदै जाने दाबी उनले गरे। यस्तै, त्रिभुवन विश्वविद्यालयमा एआई (कृत्रिम बुद्धिमत्ता) को पढाइ कहिलेदेखि सुरु हुन्छ भन्ने प्रश्नमा उनले त्रिविलाई पूर्ण अधिकार दिइएको र उपकुलपतिसँग यसबारे छलफल भइरहेको बताए।
अस्पतालको ओपीडी सेवा आइतबार खुलाउने विषयमा अहिले निर्णय भइनसकेको र आइतबार ओपीडी नखुल्ने पनि उनले स्पष्ट पारे। प्रधानमन्त्री संसद्को प्रश्नोत्तर कार्यक्रममा कहिले सहभागी हुने भन्ने जिज्ञासामा प्रवक्ता पोखरेलले समय आएपछि प्रधानमन्त्री सहभागी हुने उत्तर दिए।
