काठमाडौं। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएपछि सिङ्गो देश स्तब्ध र मर्महत बनेको छ। यस दुःखद घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीलाई सम्बोधन गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले आफ्नो वक्तव्यमा भन्नुभयो, “आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ।” उहाँले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दै उहाँले भन्नुभयो कि यो पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छन्।
सरकारले बाढीको खबर पाउनासाथ ढिला नगरी सम्पूर्ण शक्ति र संयन्त्र परिचालन गरेको प्रधानमन्त्रीले जानकारी दिनुभयो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्का बैठकहरू बसेर उद्धार, खोज र राहत कार्य तीव्र बनाउने निर्णय गरिएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरू तत्काल प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार भइसकेको छ। उद्धार गरिएका घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ।
घाइतेहरूको सहज र निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको छ। उपत्यकाका अन्य ठूला अस्पतालहरू पनि तयारी अवस्थामा राखिएका छन्। प्रभावित क्षेत्रमै मेडिकल टिम खटाइएको छ भने राष्ट्रिय ट्रमा सेन्टर, सुरक्षा निकाय, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायतबाट चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री पठाइसकिएको छ। रक्तसञ्चार केन्द्र, प्रदेश स्वास्थ्य मन्त्रालय, रेडक्रस, लायन्स क्लब र नेपाल स्काउटसँग निरन्तर समन्वय भइरहेको छ।
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन्। यी क्षेत्रका पीडित परिवारहरूलाई खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइनेछ। भत्किएका सडक, पुल, बिजुली र खानेपानी आयोजनाहरू प्राथमिकताका साथ पुनर्निर्माण गरिनेछ भने विस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ।
उहाँले प्रभावित नागरिकहरूलाई आश्वासन दिँदै भन्नुभयो, “तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ। उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।” आज रातभर पनि उद्धार कार्य जारी रहने र बेपत्ताहरूको खोजतलास अझ तीव्र पारिने उहाँले बताउनुभयो।
प्रधानमन्त्री शाहले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई राहत तथा उद्धार अभियानमा सहयोग गर्न हार्दिक अनुरोध गर्दै भन्नुभयो, “यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ।
