काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा चकलेटको प्रलोभन देखाई एक ३ वर्षीया बालिकाको करणीपछि हत्या भएको रहस्य खुलेको छ। नाबालिका हराएको निवदेन परेपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक दीलिप क्षेत्रीले सक्रियता बढाएका थिए । प्रहरीको सक्रियतापछि उक्त अपराधमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ गरेका छन् ।
साउन ३१ गते बिहान अन्दाजी साढे ८ बजेको समयमा मानमति चौधरी थारुकी ३ वर्षीया छोरी गरिमा चौधरी घरबाटै हराएकी थिइन् । छोरी हराएको भन्दै सोही दिन बिहान सवा ११ बजे मानमतिले प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएकी थिइन्। निवेदन प्राप्त हुनासाथ प्रहरीले विभिन्न टोली परिचालन गरी हुलास, जगदम्बा, सिमरा चोक, जितपुर, पथलैया र वरपरका जंगल लगायतका सम्भावित स्थानहरूमा सिसिटिभी क्यामेरासमेत चेकजाँच गर्दै निरन्तर खोजतलास सुरु गरेको थियो ।
खोजीका लागि भाद्र २ गते मंगलबार साँझ जितपुर सिमरा उपमहानगरपालिका १ स्थित वीर बहादुर रोकाको खाली घरमा तालिम प्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दीलिप क्षेत्रीले जानकारी दिएका छन् । बालिकाको शव फेला परे लगत्तै सोही राति १० बजे प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिकका चालक २४ वर्षीय प्रोगेश चौधरीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट थापाले नाबालिकालाई चकलेट दिई ललाइफकाई उक्त खाली घरमा लगेर थापा र चौधरीले जबरजस्ती करणी गरी हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका दुवै जनालाई जबरजस्ती करणी तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरि अदालतबाट ४ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिएका छन् ।
