काठमाडौं । मानव जीवनमा कहिलेकाहीँ यस्ता अकल्पनीय घटनाहरू घट्छन्, जसले सुन्ने जो कोहीको पनि मुटु काँप्छ। भर्खरै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकामा एउटा यस्तै कहालीलाग्दो घटना घटेको छ । यो कथा हो, भर्खरै तोते बोली बोल्न र बामे सरेर हिँड्न सिकेको एउटा अढाई वर्षीय अबोध बालकको, जसले घना जङ्गलको डरलाग्दो एक्लोपनमा भोक र तिर्खासँग लगातार दुई दिनसम्म सङ्घर्ष ग¥यो। गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय बालक शिवान तामाङको जङ्गलमा हराएको र दुई दिनपछि भएको सकुशल उद्धारको यो घटना कुनै चलचित्रको कथाभन्दा कम छैन।
घटना भदौ २ गते बिहानको हो। गाउँको सामान्य दिनचर्या सुरु भइसकेको थियो। बिहानको करिब ७ बजेको समय, शिवानकी हजुरआमा हेमकुमारी आले घरको कामधन्दा छोट्याएर नजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न भनेर निस्किइन्। सायद उनले सोचेकी थिइन्, बिहानको कलिलो घाममा केही च्याउ टिपेर छिट्टै घर फर्किनेछु र नातिसँग खेल्नेछु। घरमा साढे दुई वर्षको सानो नाति शिवान आफ्नै धुनमा खेलिरहेको थियो। हजुरआमालाई के थाहा, उनी जङ्गलतर्फ लाग्दै गर्दा उनको मुटुको टुक्रा पनि घरको सुरक्षित आँगन छोडेर कतै अलमलिनेछ। केही समयपछि जब हेमकुमारी च्याउ लिएर घर फर्किइन्, घरको आँगन सुनसान थियो। सधैँ हजुरआमा भनेर दौडिँदै आउने शिवान त्यहाँ थिएनन्। सुरुमा त उनलाई लाग्यो, सायद बच्चा छिमेकीको घरमा खेल्न गएको होला। तर, जब वरपरका सबै घर र सम्भावित ठाउँहरूमा खोज्दा पनि शिवानको कुनै अत्तोपत्तो लागेन, तब हेमकुमारीको मनमा चिसो पस्यो। एउटा साढे दुई वर्षको बच्चा एक्लै कहाँ जान सक्छ?
क्षणभरमै गाउँमा खैलाबैला मच्चियो। स्थानीय बासिन्दा र छरछिमेकीहरू भेला भए। सबैले आ–आफ्नो तर्फबाट सम्भावित ठाउँहरूमा आँखा डुलाए। गाउँको सिमानासँगै जोडिएको शंखदेवी सामुदायिक वनको घना झाडी र रुखहरूले सबैलाई गिज्याइरहेको जस्तो भान भइरहेको थियो। कतै बच्चा खेल्दाखेल्दै त्यही जङ्गलभित्र त पसेन? यो आशङ्का धेरैले गरे । दिन ढल्किँदै जाँदा र साँझ पर्न लाग्दा पनि बच्चाको कुनै निसाना फेला नपरेपछि, स्थानीय बासिन्दाहरूको प्रयासले मात्र सम्भव नहुने देखियो। अन्ततः निराश र त्रसित बनेका परिवार र गाउँलेले बालक हराएको खबर गर्दै इलाका प्रहरी कार्यालयमा आधिकारिक रूपमा निवेदन दिए।
प्रहरीमा खबर पुग्नासाथ उद्धार कार्यले व्यापक रूप लियो। शिवानको खोजीका लागि स्थानीय बासिन्दाहरूको ठूलो समूहसँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट तत्कालै ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन गरियो। रातको समयमा जङ्गलको खोजी कार्य अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण थियो। रातभरि परिवारका सदस्यहरूको आँखामा निद्रा परेन। हजुरआमाको रुवाबासीले गाउँकै माहोल शोकमग्न बनेको थियो। एउटा अढाई वर्षको बच्चा, जसले राम्ररी पेटभरि खान पाएको छैन, ऊ रातको त्यो कहालीलाग्दो अन्धकार र जङ्गलको डरलाग्दो आवाजहरूका बीच कसरी सास फेरिरहेको होला?
भदौ ३ गतेको पूरै दिन जङ्गलका कुनाकुनामा आवाज दिँदै, झाडी पन्छाउँदैमा बित्यो। सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा वन क्षेत्रलाई घेरेर व्यापक खोजतलास जारी राखे। तर, अहँ त्यो दिन पनि निराशा अनी शुन्यताबाहेक अरु केही हात लागेन । समय जति बित्दै थियो, आशाका किरणहरू त्यति नै धमिलो हुँदै गइरहेका थिए। ४८ घण्टा पुग्न लाग्दा एउटा सानो बच्चा पानी र खानाविना जङ्गलमा जीवितै भेटिने सम्भावना विज्ञान र तर्कका आधारमा निकै कम हुँदै जान्छ। तर, उनीहरूले हिम्मत हारेनन्। निरन्तरको प्रयासले कहिलेकाहीँ प्रकृतिलाई पनि जित्छ भन्ने कुरा प्रमाणित हुनु अझै बाँकी नै थियो।
भदौ ४ गतेको बिहान। यो शिवान हराएको तेस्रो दिन थियो। बिहानको करिब १० बजिसकेको थियो। खोजी कार्यमा खटिएको टोली शंखदेवी सामुदायिक वनकै निकै भित्रपट्टि रहेको भागर खोलाको सिरानतर्फ पुग्यो। त्यो ठाउँ अलि विकट र झाडीले भरिएको थियो। अचानक त्यहाँ एउटा सानो आकृति देखा प¥यो। नजिकै गएर हेर्दा सबैको आँखा रसाए, मुटुको ढुकढुकी बढ्यो। त्यो त्यही अबोध शिवान थिए, जसलाई खोज्न सिङ्गो गाउँ र प्रहरी प्रशासन दुई दिनदेखि रातदिन भौंतारिरहेको थियो। भोक, तिर्खा र थकाइले लखतरान परेको भए पनि बालकको श्वास चलिरहेको थियो, उनी जीवितै भेटिन् । लगातार दुई दिनको जङ्गल बसाइपछि पनि मृत्युलाई जितेर फर्केको त्यो सानो बालकलाई सुरक्षाकर्मीले हतारहतार आफ्नो छातीमा टाँसे।
कुनै ठूलो चोटपटकविना बालकलाई सकुशल अवस्थामा उद्धार गर्नु साँच्चै नै एउटा ठूलो सफलता र चमत्कार थियो। जङ्गलको खोलाको सिरानमा भेटिनुले सायद बालकले पानीको प्यास मेटाउन त्यहाँसम्मको बाटो तय गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ। तत्कालै बालकलाई सुरक्षित रूपमा जङ्गलबाट बाहिर निकालियो र आवश्यक प्राथमिक स्वास्थ्य परीक्षण तथा कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइयो।
