काठमाडौं । तीन वर्षीया बालिका, गरिमा चौधरीको बाराको जीतपुरसिमरा उपमहा नगरपालिका–१ भक्तिनगरमा बलात्कारपछि बीभत्स हत्या भयो। यो घटनाले एकातिर नेपाली समाज कुन हदसम्म नैतिक रूपमा पतन भइरहेको छ भन्ने डरलाग्दो चित्र उजागर गरेको छ भने अर्कोतिर अनुसन्धानको नाममा राज्यका जिम्मेवार संयन्त्रहरूले देखाएको केटाकेटीपन छताछुल्ल पारेको छ । साउन ३१ गते बिहान बेपत्ता भएकी बालिकाको शव भदौ २ गते घरनजिकैको एक छिमेकीको बन्द घरभित्र डोरीले बाँधिएको र तन्नामा बेरेको अवस्थामा फेला परेको थियो। शव भेटिएकै दिन प्रहरीले १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । तर अनुसन्धान प्रक्रिया अघि बढ्दै जाँदा प्रहरी आफ्नै गैरजिम्मेवार हर्कत बाहिरीएको छ । प्रहरी कार्यालयमा अभियुक्तको बयान लिदैँ गरेको भिडियो बाहिरिएपछि अहिले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठेको छ ।
आइतबार साँझदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । प्रादेशिक अस्पताल कलैयाको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) भित्र खिचिएको उक्त भिडियोमा हतकडी लगाइएका १६ वर्षीय सुमन थापाले चिकित्सक र प्रहरीको रोहवरमा घटनाको विभत्स विवरण विस्तारमा बताइरहेका छन्। भिडियोमा ती नाबालकले आफू मात्र नभई ’प्रदीप खड्का’ नाम गरेका अर्का किशोरको उक्साहट र योजनामा यो अपराध भएको दाबी गरेका छन्। बालिकालाई चकलेटको प्रलोभन देखाएर घरभित्र लगिएको, दुवै जनाले आपराधिक गतिविधि गरेको, बालिका बेहोस भएपछि प्रदीप भागेको र पछि आफूले डोरीले बाँधेर तन्नामा बेरी ढोकामा चुकुल लगाएर हिँडेको बताइरहेको सुनिन्छ । बलात्कार र हत्या जस्तो संवेदनशील र जघन्य मुद्दामा अनुसन्धानका गोपनीयताका प्राधानिक नियमहरूको खिल्ली उडाउँदै बयान लिइरहेको भिडियो सञ्जालमा सार्वजनिक गरिनु प्रहरी प्रशासनको चरम लापरबाही र नालायकीको पराकाष्ठा हो।
अनुसन्धान अधिकारीहरूले गोप्य राख्नुपर्ने, अदालतमा पेस गर्दा प्रमाणका रूपमा प्रयोग हुनुपर्ने र कानुनतः संरक्षण गरिनुपर्ने नाबालकको पहिचानलाई ध्यान नदिई खुल्लम खुल्ला बयान लिइरहेको भिडियो सार्वजनिक गरिएको छ । त्यो प्रहरी अधिकारीबाट नै । भिडियो बाहिरीएपछि अहिले विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रहरीको कमजोरीलाई लिएर आलोचाना गरिरहेका छन् ।
भिडियो सार्वजनिक गर्ने व्यक्ति थिए, अनुसन्धानमै खटिएका बाराका प्रहरी हवल्दार कुमार विक । उनले बयान लिइरहेको भिडियो खिचेर सार्वजनिक गरेको खुलेपछि अहिले उनलाई नियन्त्रणमा लिइएको छ। हवल्दार विकमाथि बालबालिकासम्बन्धी कसुर र फौजदारी अपराधअन्तर्गत मुद्दा चलाउन नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रमुख (एसपी) नरेन्द्र कुँवरले जानकारी दिएका छन्। तर प्रश्न केवल एकजना हवल्दारको मात्र होइन; अस्पतालको सुरक्षित मानिने ओसीएमसी कक्षभित्र प्रहरी, चिकित्सक र अन्य कर्मचारीहरूको उपस्थितिमा कसरी एउटा हवल्दारले निर्धक्क भिडियो खिचेर बाहिर पठाउनेसम्मको हिम्मत ग¥यो? के त्यहाँ उपस्थित अन्य वरिष्ठ अधिकारीहरू के गरेर बसिरहेका थिए ? यो विषय अहिले धेरैको चाँसोको विषय बनेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले कारबाहीको निर्देशन दिएको र मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालको नेतृत्वमा छानबिन टोली बारा पुगेको बताएका छन् । प्रहरी हवल्दार यो प्रकरणमा कारवाहीमा परेपनि तर प्रहरीमै वरिष्ठ अधिकारीहरुको अडाडी एक व्यक्तिले कसरी यस्तो कार्य गर्न सक्यो भन्ने मुख्य प्रश्न बनिरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान र भिडियोमा नाम जोडिएपछि यस प्रकरणले जटिल रूप लिएको छ। भिडियोमा नाम लिइएका ’प्रदीप खड्का’ भनिने अर्का बालकलाई पनि सोमबार प्रहरीले पक्राउ गरेको छ। यति मात्र होइन, गरिमाका पीडित परिवारले दिएको पूरक जाहेरीका आधारमा शनिबार पाँच जना र आइतबार साँझ जितपुरसिमरा–२ का १४ वर्षीय अर्का किशोरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दयाकृष्ण भट्टका अनुसार सुमन थापाको बयानका आधारमा ती १४ वर्षीय किशोरलाई पक्राउ गरिएको हो। यससँगै गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ पर्नेहरूको कुल संख्या आठ पुगेको छ । मुछिएका अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपालको बालबालिकासम्बन्धी ऐन र अन्तराष्ट्रिय कानुनहरूले अपराधमा संलग्न वा आरोपित बालबालिकाको गोपनीयता कायम राख्नुपर्ने, उनीहरूको अनुहार, नाम र पहिचान खुलाउन नपाइने स्पष्ट कानुनी व्यवस्था गरेका छन्। यसको मुख्य उद्देश्य अनुसन्धानलाई निष्पक्ष बनाउनु र भविष्यमा न्याय निरूपणमा कानुनी जटिलता नआओस् भन्ने सुनिश्चित गर्नु हो। तर बारा प्रहरी र कलैया अस्पतालको संयुक्त नालायकीका कारण आज अभियुक्तको बयान सामाजिक सञ्जालमा भाइरल बनेको छ। भोलि अदालतमा बहस हुँदा यही भिडियो लिकको विषयलाई ढाल बनाएर अपराधीका वकिलहरूले कानुनी छिद्रबाट अभियुक्तहरूलाई उम्काउने खतरा उत्पन्न भएको छ। प्रचारबाजी र सस्तो लोकप्रियताका लागि प्रहरी कर्मचारीहरूले नै प्रमाण र बयान लिक गर्ने यो प्रवृत्तिले न्याय ढिलाइ हुने मात्र होइन, पीडितले न्याय नै नपाउने जोखिम बढाएको छ।
प्रहरीले पक्राउ परेका आठै जनामाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको र उनीहरूको भूमिका प्रष्ट पारिने दाबी गरिरहेको छ। प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रमाण र बयानका आधारमा घटनाको सम्पूर्ण सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका छन्। तर, जुन प्रहरी निकाय आफ्नै अनुसन्धानको भिडियो जोगाउन सक्दैन, जसका हवल्दारहरू अस्पतालको संवेदनशील कक्षभित्रै गैरकानुनी रूपमा क्यामेरा चलाएर बस्छन्, त्यो प्रहरीको अनुसन्धानमाथि नागरिकले कसरी आँखा चिम्लिएर विश्वास गर्ने? अपराधमा संलग्न जोकोही हुन्, चाहे ती २४ वर्षका युवा हुन् या १४ र १६ वर्षका नाबालक, उनीहरूले गरेको अपराधको प्रकृति अत्यन्तै पासविक र अक्षम्य छ। तीन वर्षकी बालिकामाथि गरिएको यो क्रूरता कुनै पनि बहानामा क्षमायोग्य हुन सक्दैन।
यो प्रकरणले दुईवटा मुख्य विषयलाई सँगसँगै अगाडि ल्याएको छ। पहिलो, समाजमा बढ्दै गएको चरम यौन हिंसा र त्यसमा किशोरवयका बालबालिकाको भयानक संलग्नता, जसले हाम्रो सामाजिक अभिभावकत्व र कानुनी डरको अभावलाई देखाउँछ। दोस्रो, नेपाल प्रहरीको प्राविधिक र नैतिक ह्रास, जहाँ संवेदनशील अनुसन्धानका प्रमाणहरू सञ्जालको भ्युज र लाइकका लागि छरपस्ट पारिन्छन्। अब प्रहरीले केवल हवल्दार कुमार विकलाई पक्राउ गरेर आफ्नो छाला जोगाउने प्रयास मात्र गर्नु हुँदैन; कलैया अस्पतालको ओसीएमसी कक्षमा उपस्थित ती डाक्टर र अन्य सुरक्षाकर्मीहरूमाथि पनि छानबिन हुनुपर्छ जसको उपस्थितिमा यो गैरकानुनी कृत्य भएको थियो। गरिमा चौधरीले न्याय पाउनुपर्छ, तर त्यो न्याय कुनै भाइरल भिडियो र सामाजिक सञ्जालको अदालतबाट होइन, कानुनी प्रक्रियाको कठोर र निष्पक्ष अनुसन्धानबाट हुनुपर्छ।
