काठमाडौं — बाढीले घर–सम्पत्ति मात्रै बगाएन, उपचारका लागि वर्षौंदेखि जुटाएको आर्थिक स्रोतसमेत खोसिदिएपछि जीवन र मृत्युको दोसाँधमा पुगेकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक रकम बाढीले बगाएपछि उपचारमा कठिनाइ भोगिरहेकी डंगोलको आर्थिक अवस्था मध्यनजर गर्दै केएमसीले उनको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको हो । विष्णुकुमारीको निःशुल्क उपचार हुने भएपछि उनका श्रीमान् राजकुमार डंगोलले ठूलो राहत महसुश गरेका छन् ।
केएमसीका अनुसार बिरामी अस्पतालमा भर्ना भएदेखि सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएर डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण अस्पतालसम्बन्धी खर्च निःशुल्क उपलब्ध गराइनेछ । बाढीको भेलले उपचारको सपना र त्यसका लागि जुटाइएको आर्थिक आधार नै बगाएपछि विष्णुकुमारीको परिवार उपचार कसरी गर्ने भन्ने चिन्तामा थियो ।
यस्तो कठिन अवस्थामा आर्थिक अभावकै कारण उपचार रोकिएर बिरामीको जीवन जोखिममा नपरोस् भन्ने मानवीय भावनाका साथ केएमसीले निःशुल्क उपचारको निर्णय गरेको हो । विपद्को समयमा पीडित नागरिकको पीडालाई आफ्नै दायित्वका रूपमा लिँदै अस्पतालले मिर्गौला प्रत्यारोपणजस्तो जटिल र महँगो उपचारसमेत निःशुल्क गर्ने निर्णय गरेको हो । अस्पतालले विपद्को कठिन घडीमा स्वास्थ्य उपचारबाट कुनै नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ । यसका साथै केएमसी दुवाकोटमा बाढीपीडितको निःशुल्क उपचार हुने भएको छ । औषधि तथा औषधिजन्य सामग्रीबाहेक बाढीपीडितको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पताल आफैंले बेहोर्ने भएको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेजले निरन्तर यस्ता मानवीय सहयोगका कार्यहरू गर्दै आएको छ ।
शर्मा प्रतिनिधिसभामा सांसद रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन् । उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन् । गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर निःशुल्क स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणलगायतका कार्य उनका पहिचान बनेका छन् ।
