काठमाडौं । एम.भी. दुगड ग्रुपले रसुवामा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख आर्थिक सहयोग गरेको छ। ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र सञ्चालक शुभम दुगडसहित दुगड ग्रुपले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वािर्णम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
गत भाद्र १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनमा सरकारलाई सघाउने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो। उक्त रकममा एम.भी. दुगड ग्रुप र यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोग समेत समावेश रहेको बताइएको छ। ग्रुपले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
यस्ता विनाशकारी विपद् बढ्नुको प्रमुख कारण जलवायु परिवर्तन र ग्लोबल वार्मिङ रहेको भन्दै ग्रुपले वातावरणीय संरक्षणमा पनि जोड दिएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वि.सं. २०७८ सालदेखि देशव्यापी रूपमा वृक्षारोपण गर्दै आएको छ ।
हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसमेत रोपेर रोपी संरक्षण गर्ने कार्यसमेत भएको छ। ग्रुपले ग्लोबल वार्मिङको असर कम गर्न यस अभियानलाई भविष्यमा पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
