नायक राजेश हमालले कलाकारिता सबैभन्दा असुरक्षित पेशा रहेको बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा कुरा गर्दै हमालले कलाकारिताको थालनी जोसुकैले गरेपनि यसमा निरन्तरता दिईरहने, करिअर बन्ने, लामो समयसम्म जीविकोपार्जन गर्न सक्ने कुनै ग्यारेन्टी नभएको बताए ।
‘मलाई धेरै नयाँ भाईबहिनीहरुले म कलाकारितामा आउन चाहान्छु । चलचित्रमा आउन चाहान्छु त्यसका लागि के गर्नुपर्छ दाई भन्नुहुन्छ’ उनले भनेका छन्–‘मैले उहाँहरुलाई कलाकारिता भनेको नेपालमा मात्र नभएर विश्वमै असुरक्षित पेशा रहेको बताउँछु ।’
हमालले कलाकारितामा लागेर सफलता हासिल हुन्छ, करिअर बन्छ, जिविकोपार्जन लामो समयसम्म गरिरहन सकिन्छ भन्ने कुनै ग्यारेन्टी नभएको सुझाव आफूले दिने गरेको बताए ।
चलचित्रमा व्यस्तताकै समयमा आफू स्वयंमले समेत असुरक्षित महशुस गर्दै काम गरेको हमालले स्मरण गरे । उनले भनेका छन्–‘यो वर्ष त म चलेँ । अब अर्को वर्ष चल्छु कि चल्दिनँ भनेर सधै असुरक्षित महशुश हुन्थ्यो ।’ उनले पहिलो चलचित्र भव्यताका साथ रुचाईए पनि दोस्रो चलचित्र सोही अनुसार रुचाइन्छ भन्ने कुनै ग्यारेन्टी नहुने बताए ।
