बीबीसी । पन्जशीर उपत्यकामा तालिबानसँग भीषण युद्ध लडिरहेको तालिबान प्रतिरोधी मोर्चाका नेताले शान्ति वार्तामा प्रवेश गर्न खुल्ला रहेको बताएका छन् ।
तालिबान विरोधी नेता अहमद मसौदले धार्मिक नेताहरू (मौलवीहरू)ले अघि सारेको वार्ताबाटै समाधान गर्ने योजनालाई आफूले समर्थन गरेको बताउँदै तालिबानलाई आक्रमण रोक्न आह्वान गरेका छन् ।
यसअघि खबरहरूले तालिबानले तीव्र रूपमा पन्जशीरको भूभाग आफ्नो हातमा लिएको सुझाएका थिए ।
कावुलदेखि उत्तरमा रहेको पन्जशीर उपत्यका तालिबान शासन प्रतिरोधको एकदमै प्रख्यात उदाहरण हो ।
पश्चिमा समर्थित सरकार पतन भएसङ्गै अगस्ट १५ मा तालिबानले तीन हप्ता अघि नै अफगानिस्तानको बाकी भूभाग नियन्त्रणमा लिइसकेको थियोे ।
एउटा फेसबुक पोस्टमा मसौदले तालिबानले आक्रमण रोके पूर्व अफगान सुरक्षा बलका सदस्यहरू र स्थानीय मिलिसियाहरू रहेको नेशनल रेसिस्टेन्ट फ्रन्ट (एनआरएफ) वार्ताको लागि तयार रहेको बताएका छन् ।
तालिबानबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
पहाडले घेरिएको पन्जशीर १९८० को दशकमा तत्कालीन सोभियत र १९९६ देखि २००१ सम्ममा तालिबान शासनको प्रतिरोधको केन्द्र थियोे, जहाँ हाल १ लाख ५० हजारदेखि २ लाख मानिसहरू बसोबास गर्छन् ।
यसअघि तालिबानले आफ्नो फौज पन्जशीरको प्रान्तीय राजधानी बजारकमा पुगेको बताएको थियोे तर एनआरफले यसको खण्डन गरेको थियो ।
युद्धमा दुवै पक्षले कमान्डर सहित लडाकुहरू गुमाएको बताइएको छ ।
