हुन त नेपालको स्कुलदेखि उच्च तहसम्म नै शिक्षाको गुणस्तरदेखि पाठ्यक्रम र शिक्षण विधिसम्म थुप्रै समस्याहरू छन् भन्न धक मान्नु पर्दैन। तर यो लेखमा खासगरी नेपालको उच्च शिक्षामा आफ्नो दुई दशकभन्दा लामो अनुभवबाट देखेका र बहसमा कमै आउने गरेको एउटा विषयमा केन्द्रित भएको छु।
उच्च शिक्षालाई आजको समयसापेक्ष र समाज उपयोगी बनाउन हाम्रो समग्र शिक्षा (प्रणाली र पद्धति) लाई पुनर्संरचना गर्न जरूरी छ। किनकि आजको हाम्रो शिक्षा समाज र समुदायभन्दा अलग र कक्षाकोठाको चार पर्खालमा मात्र सीमित छ।
हामीले आफ्नै समुदायमा भएका ज्ञान, स्रोतसाधन र प्रविधिलाई आफ्नो पाठ्यक्रमको अंग बनाउन सकेनौं। न त शिक्षाबाट हासिल गरेका ज्ञानबाट समाजका विद्यमान चुनौती र समस्या समाधानका लागि उल्लेख्य योगदान गर्न सकेका छौं।
हामीलाई हाम्रो समाज, परिवेश, स्थानीय अर्थव्यवस्था, स्रोतसाधन, अवसर इत्यादिसँग अन्तरसम्बन्धित उच्च शिक्षाको खाँचो मैले देखेको छु। यस्तो शिक्षाको आवश्यकता सम्बोधन गर्न हामीलाई नयाँ सोच र शैलीसहितको उच्च शिक्षा चाहिएको छ।
यस्तो उच्च शिक्षा किन चाहिएको छ हामीलाई? त्यसको खाका के-कस्तो हुनुपर्छ?
यो लेख यिनै दुई विषयमा केन्द्रित छ।
पहिलो, किन चाहियो त उच्च शिक्षामा परिवर्तन?
वास्तवमा हाम्रो अहिलेको उच्च शिक्षाको पद्धति ‘आउटडेटेड’ भइसकेको छ। हामीले अपनाउँदै आएको उच्च शिक्षा प्रणाली मूलतः यस्तो उच्च शिक्षा औद्योगीकरणको युगका बेला डिजाइन भएको हो। त्यो समयमा औद्योगिक उत्पादन तथा त्यो प्रक्रिया राम्रोसँग सम्बोधन गर्नसक्ने निश्चित सीपहरू भएका जनशक्तिको आवश्यकता महशुस गरियो।
त्यसैअनुरूप जनशक्ति विकास गर्नुलाई प्राथमिकता दिइयो। पाठ्यक्रम डिजाइन पनि त्यहीअनुरूप खास सीपयुक्त जनशक्ति नै उत्पादन गर्ने गरी गरियो, जुन नियन्त्रण, दक्षता, प्रक्रिया इत्यादिको मान्यताबाट निर्देशित थियो।
त्यति बेलाका संगठनहरूको सञ्चालन प्रणालीमा स्थिरता थियो, प्रक्रियामा स्थायित्व थियो। मात्र चाहिएको के थियो भने- त्यसमा फिट हुने सीप भएका र अह्राएको काम गर्ने जनशक्तिहरू। त्यसका लागि कस्तो सीप चाहिएको छ भन्ने पनि निर्धारित नै थियो। त्यही ढाँचामा विभिन्न सीप भएका जनशक्ति उत्पादन गर्ने भन्ने मान्यताबाट निर्देशित भएर उच्च शिक्षा प्रणाली डिजाइनले व्यापकता पायो र त्यही दशकौंसम्म कायम रह्यो।
हामीले पनि उद्योग-व्यवसायहरूमा निर्दिष्ट संरचना खोज्यौं। त्यसो हुनेबित्तिकै हाम्रो शिक्षा प्रणाली पनि प्रतिपादित सिद्धान्तहरू अनुरूपका ज्ञान भए/नभएको जाँच गर्ने र त्यसमा राम्रो अंक ल्याउने व्यक्ति अब्बल हुने सोचाइबाट निर्देशित भयो। यसो गर्न पाठ्यक्रम पनि पहिल्यैदेखि निर्धारित छ, शिक्षकले के पढाउने भन्ने पनि तय छ।
विद्यार्थीलाई केही घन्टा तोकेर लिइने परीक्षामा पनि त्यहीभित्रबाट सोध्ने र विद्यार्थीले पनि त्यही कुरा मात्र पढ्ने परिपाटी आमरूपमा स्थापित भयो। अहिलेजस्तो इन्टरनेट सुविधा र व्यापकता नहुँदै परिकल्पित यस्तो शिक्षा प्रणालीमा शिक्षक र विद्यार्थी दुवैका लागि सूचना तथा जानकारी स्रोत पनि सीमित थियो। यस्तो शिक्षाले आलोचनात्मक चेत, सिर्जनशिलता, नवीनता, समस्या समाधान क्षमता वृद्धि गर्दैन। केवल किताबी ज्ञान पुनर्उत्पादन मात्र गर्छ।
सूचना प्रविधि युगमा प्रवेश गरेसँगै छोटो अवधिमै चौतर्फी रूपमा ठूलो रुपान्तरण आइसकेको छ। एउटा रूपान्तरण- विश्व अर्थव्यवस्थामा केही दशकको अन्तरालमै ठूलो परिवर्तन भएको छ। हिजोसम्म विश्वका उत्कृष्टमा उत्पादन क्षेत्रका कम्पनी, जस्तैः कोकाकोला, जीई, टोयोटा लगायतले राज गर्थे भने अहिले उत्कृष्टमा गुगल, एप्पल, फेसबुक जस्ता सूचना-प्रविधि कम्पनीको आधिपत्य छ।
यस्ता कम्पनीको यही नवप्रवर्तन र सोचकै कारण अहिले विश्व उत्पादनमुखी अर्थतन्त्र (म्यानुफ्याक्चरिङ इकोनोमी) बाट ज्ञान अर्थतन्त्र (नलेज इकोनोमी) मा तीव्र गतिमा रूपान्तरण भइरहेको छ। यसलाई ‘इन्नोभेसन’, ‘नलेज’ र ‘टेक्नोलोजी’ ले निर्देशित गरिरहेको छ। यसमा सिर्जनशील सोच जसको भयो उसले आजका उत्कृष्ट कम्पनीहरू- एप्पल, गुगल, फेसबुक, अमेजन, टेस्ला लगायत जन्माउन सके।
संसार यसरी भविष्यको दिशामा अघि बढ्दै गर्दा हाम्रो शिक्षा भने अहिले पनि धेरै हदसम्म हिजोकै ठाउँमा छ। नेपालमा आज पनि प्राध्यापकले गजबले लेक्चर दिने, सिद्धान्तहरू गजबसँग पढाउने, होमवर्क/असाइन्मेन्ट खुब दिएर पढाइ-लेखाइमा घोटाउने, जाँच राम्रोसँग लिने कलेज/विश्वविद्यालय नै राम्रा हुन् भन्ने धारणा बलियो छ।
किताब र परीक्षामा अलमलिएको हाम्रो शिक्षा प्रणालीः
समाज वृहत प्रणाली हो भने शिक्षा त्यसका एउटा उप-प्रणाली। यसकारण समाज र शिक्षाबीच समानान्तर र अन्तर्क्रियात्मक सहसम्बन्ध हुन्छ। कतिपय अवस्थामा शिक्षाले समाजलाई सूचित गर्नुपर्छ।
यसर्थ समाजभन्दा शिक्षा एक कदम भए पनि अगाडि हुनुपर्ने हो। समाज कता जाँदैछ, अहिलेको ट्रेन्ड के छ, भविष्य कस्तो हुँदैछ भनेर सूचित गर्नुपर्ने दायित्व शिक्षाको हो। तर हामीकहाँ ठीक उल्टो भयो। समाज यति टाढा वा अगाडि गइसक्दा शिक्षा प्रणाली भने जहाँको त्यहीँ सुतेर बसिरहेको छ। सबभन्दा ठूलो समस्या नै यही छ।
आजसम्म हाम्रो शिक्षा किताब, परीक्षा र ग्रेड (अंक) कै वरिपरि रूमलिएको छ। शिक्षालाई ‘के’ भन्ने प्रश्नको उत्तर खोज्नमा मात्र केन्द्रित गरिएको छ। यस्तो शिक्षाबाट विद्यार्थीको सिकाइ र ज्ञान आर्जनलाई ‘किन’ र ‘कसरी’ भन्ने प्रश्नको उत्तर दिनसक्ने बनाउन सकिँदैन, जुन आजको अपरिहार्य आवश्यकता हो।
अर्को समस्या, उच्च शिक्षामा हामीले पढ्ने/पढाउने अधिकांश पाठ्यपुस्तक हामी (नेपाली) ले लेखेका होइनौं।
उदाहरणका लागि व्यवस्थापन संकायमा मार्केटिङ विषय फिलिप कोटलरले लेखेको किताबका विषयवस्तुमा यहाँका शिक्षकले ‘विज्ञ’ भएर पढाउनुपर्छ। अरू संकाय र थुप्रै विषयको सवालमा पनि यस्तै छ अवस्था। विदेशी लेखकले लेखेको हाम्रो भूगोल-अर्थतन्त्र-समाज-परिवेशको सन्दर्भसँग मेल नै नखाने पाठ्यक्रमका सिद्धान्त र परिभाषा हुबहु रटेर, त्यसमा जान्ने भएर विद्यार्थीले आफूलाई अब्बल देखाउनुपर्ने बडो टिठलाग्दो अवस्था छ उच्च शिक्षामा।
पाठ्यपुस्तकमा भएको भन्दा अलि फरक तरिकाले सोच्ने विद्यार्थीको विचार वा धारणा स्वीकार्न पनि हामी ‘शिक्षित’ हरू प्रायः गाह्रो मान्छौं। किताबमा लेखिएको कुरा मात्र सत्य हो भन्ने एकमना मानसिकताबाट हामी शिक्षा क्षेत्रमा भएकाहरू पनि ग्रस्त छौं।
तर, के यसरी दीक्षित भएका जनशक्तिले हाम्रा मौलिक समस्याहरुको समाधान दिन र समाजलाई भविष्यको बारेमा सुसूचित गर्दै अग्रगामी बनाउन सक्छन् त? अहिलेको पेचिलो प्रश्न हो यो। यही प्रश्नको उत्तरभित्र हाम्रो उच्च शिक्षाको मर्म अटाएको छ।
समुदायसँग जोड्ने र समस्यासँग खेल्ने उच्च शिक्षाको खाँचोः
माथिको परिदृष्यले हामीकहाँ विद्यमान शिक्षा पद्धतिको हाम्रै समाजसँग अन्तरसम्बन्ध नभएको देखाउँछ।
उदाहरणका लागि, हाम्रा विद्यार्थीलाई अमेरिकी कम्पनी गुगलमा के भइरहेको छ त्यो थाहा पाउन सक्लान् तर यहाँकै ‘एफवान सफ्ट’ बारे थाहा हुँदैन। इसेवा एप्सको प्रयोगकर्ता नै भए पनि त्यो बनाउने कम्पनी एफवान सफ्टको कथा, विकास, उतारचढाव, सफलता, लगानी, सञ्चालन आदिबारे जानकारी हुँदैन। न भर्खरै १३ वर्ष पार गरिसकेको इसेवाकै व्यवसायिक कथा थाहा हुन्छ।
यसको अर्थ हाम्रो समुदाय वा यसमा भएका उद्यम/व्यवसाय/कर्पोरेटहरूसँग शिक्षाको तालमेल र अन्तरसम्बन्ध कमजोर छ।
शिक्षित जनशक्तिलाई समाजसँग जोड्ने शिक्षा प्रणाली बन्न सकेको छैन। यसैले हामीकहाँ कृषि, व्यवस्थापन, इञ्जिनियरिङ, समाज विज्ञान लगायत थुप्रै विषय पढाउने कलेज प्रशस्तै भए पनि तिनले उत्पादन गरिरहेका जनशक्तिबाट हाम्रो समाजमा उपलब्ध स्रोतसाधनको उच्चतम सदुपयोगबाट लाभ लिने होस् वा समाजका साना-ठूला समस्या तथा चुनौतीको सम्बोधन, नतिजामुखी ढंगले हुन सकेको छैन।
त्यसो भएको भए हाम्रा शैक्षिक संस्थाबाट उत्पादित जनशक्तिबाटै नेपालको कृषि क्षेत्रमा वर्षौंदेखि कायम मूल्य श्रृंखलाको समस्या हल भइसकेको हुन्थ्यो। काठमाडौंको ट्राफिक समस्या समाधान भइसकेको हुन्थ्यो। यहाँको प्रदूषण नियन्त्रण उपाय हाम्रै युवाको नवप्रवर्तनबाट निस्किएको हुन्थ्यो।
हाम्रो शिक्षाले समाजका यस्ता समस्यामाथि कहिल्यै छलफल गरेन वा गर्न खोजेन। न त स्थानीय समस्या समाधानका लागि अध्ययन-अनुसन्धान गर्ने कुनै परिपाटी नै बसाल्यो। देश वा समाजको भविष्यप्रति चिन्ता गर्ने हर कोहीका लागि यो साँच्चै नै असाध्यै पीडादायक स्थिति हो।
हामी शिक्षासेवीलाई शिक्षा प्रणालीमा रहेको यस्तो यथास्थितिवादप्रतिको विरक्तले भित्रैबाट हुँडल्नु पर्छ। ‘के हामी समाजलाई नै हाम्रो शिक्षामा पाठ्यक्रमका रूपमा जोड्न सक्दैनौं’ भन्ने प्रश्नले घचेट्नु पर्छ। तब मात्र हाम्रो शिक्षाको राम्रो भविष्यको परिकल्पना र यसनिम्ति आवश्यक ढाँचा तथा पाठ्यक्रम, शिक्षण पद्धति लगायत डिजाइन, विकास र अबलम्बन गर्न सकिन्छ जसले हाम्रो समाजका वास्तविक समस्या समाधान गर्न सकोस्।
खुसीको कुरा के भने आज धेरै नेपालीहरू आफ्नो परिवेश तथा विदेशमा सिकेर स्वदेशमा विभिन्न किसिमका उच्च शिक्षाका संस्था तथा कार्यक्रम सञ्चालन गर्दैछन्, गर्न चाहन्छन्। हामीले यसलाई पुँजीकृत वा उपयोग गर्नुपर्छ। यो ऊर्जा, जोस/उत्साह र सिर्जनशीलतालाई सदुपयोग गर्न सके हामीले उच्च शिक्षालाई साँच्चिकै समाजका लागि सान्दर्भिक र उपयोगी बनाउन सक्छौं।
नेपाल विविधताले भरिएको देश हो जहाँ जातीय, साँस्कृतिक, भौगोलिक, परम्परागत फरक छन्। यसका बाबजुद हामी एकै किसिमको मोडल लागू गर्दैछौं। समाजमा विद्यमान विविध समूह/समुदायका आवश्यकता फरक भएपछि समाधान पनि फरक हुनुपर्छ। त्यसैले हामीले अब उच्च शिक्षाका विभिन्न मोडल प्रवर्द्धन गर्नुपर्छ।
हाम्रो उच्च शिक्षामा रूपान्तरण चाहिएको छ। सिमान्त परिवर्तन (मार्जिनल चेन्ज) ले मात्र हुँदैन। हाम्रो विद्यमान संरचना, मोडल र प्रणालीबाट हाम्रा आर्थिक सामाजिक समस्याहरू समाधान भएका छैनन् भने विद्यमान यथास्थितिवादलाई चुनौती दिनै पर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा- हाम्रो समुदायबाटै हामीले सिक्नुपर्छ र हामीले कलेज/विश्वविद्यालयमा जे सिक्छौं त्यो पनि समुदायको समस्या समाधानमा नै उपयोग गर्न सके मात्र बल्ल हाम्रो शिक्षाको सान्दर्भिकता पुष्टि हुन्छ। अन्यथा किताबी ज्ञान लिएर किताबमै मात्र सीमित भयो भने मात्र त्यस्तो शिक्षाको कुनै अर्थ हुँदैन। न त्यहाँबाट वास्तविक मानेमा सिकाइ नै हुन सक्छ। न पढेको कुराले हाम्रा मौलिक समस्याहरूको समाधान नै हुनेछ।
अहिलेको हाम्रो शिक्षा भने यस्तै अवस्थामा वा समाज/समुदायबाट पूर्णरूपमा विभक्त भएको छ भन्ने मेरो मुख्य दलिल हो। यही कारण यसलाई ‘रिडिस्कभर’ गरेर कसरी समुदायसापेक्ष बनाउने, कसरी समाजबाट हामीले सिक्ने र हामीले कसरी हाम्रो शिक्षालाई समुदायका लागि सान्दर्भिक बनाउन सक्छौं भन्नेमा सघन विमर्शको खाँचो छ।
यो पृष्ठभूमिमा दोस्रो खण्डमा र मूल रूपमा उठाउन खोजिएको मुद्दा हो- कस्तो हो त हामीले परिकल्पना गरेको अबको उच्च शिक्षा?
हामीले परिकल्पना गरेको भविष्यको विश्वविद्यालयमा हुनुपर्ने सम्मिश्रणको एउटा शर्त ‘शिक्षा कुन ढाँचामा संचालन गर्ने’ भन्नेमा प्रष्टता हो।
नेपालमा एउटा साह्रै ठूलो दुबिधा वा खासगरी सन् २००४ हाराहारीपछि बहसमा बारम्बार आउने गरेको विषय हो ‘शिक्षा निजी वा सार्वजनिक क्षेत्र, कसबाट सञ्चालित हुनुपर्छ?’
मेरो बुझाइमा यो दुवैथरी तर्क गलत छ, अर्थात दोषरहित छैन। किनकि हाम्रो शिक्षा अहिले या त व्यापारीकरणको पासोमा छ वा यथास्थितिवादको पासोमा।
सरकारी शिक्षण संस्थामा देखिने दोस्रो किसिमको पासोले त अझ परिवर्तन र नवीनता/नवप्रवर्तनको आवश्यकता नै महसुस गरेन। त्यसैले दशकौंदेखि जे छ त्यही चलिरहेको छ। सुधार ल्याउनुपर्छ वा परिवर्तन गर्नुपर्छ भन्ने दबाब नै कतैबाट भएन।
अर्कोतर्फ, निजी शिक्षण संस्थाहरू पनि व्यापारीकरणको चक्रमा भासिँदै गएका छन्। निजी शिक्षालाई पैसाले ‘ड्राइभ’ गर्न थालेको देखिँदै गएको छ। पैसाले दौडाएको शिक्षा चाहिँ न्यायसंगत हुँदैन भन्नेमा मेरो अत्यन्त बलियो तर्क र अडान रहँदै आएको छ। शिक्षा पैसाका लागि होइन, पैसा शिक्षाका लागि चाहिन्छ। किनभने शिक्षण संस्ठाहरूले पनि शुल्क नउठाए स्रोत-साधनहरू कहाँबाट जुटाउने? तर शिक्षालाई कमाइको भाँडो नै बनाउन भने हुँदैन भन्ने मेरो मान्यता हो।
यसकारण निजी र सार्वजनिक बीचको ढाँचाका रूपमा शिक्षा (वा शिक्षण संस्था) लाई गैरनाफामूलक बनाइनुपर्ने मेरो बुझाइ छ। शिक्षाप्रेमी, स्वतस्फूर्त जोशले डोर्याएका, सामाजिक उद्देश्यमा हुनेहरू नै केन्द्रित हुनुपर्ने शिक्षा क्षेत्रमा पैसा कमाउनकै लागि कोही आउनु घातक हुन्छ। अमेरिकाको हार्वर्ड, स्ट्यान्फोर्ड, एमआइटीदेखि भारतको आइआइएम, आइआइटीसम्म यही मान्यताका साथ सार्वजनिक (गैरनाफामूलक) उद्देश्यका साथ निजीरूपमा सञ्चालित विश्वविद्यालय हुन्।
दोस्रो शर्त हो- विविधता।
कक्षामा विविधता भयो भने त्यसले विद्यार्थीलाई एकअर्काबाट बढीभन्दा बढी सिक्ने अवसर प्रदान गर्छ। त्यसैले हामीले विद्यार्थीलाई ‘राम्रो’ र ‘नराम्रो’ भनेर छुट्याउनुभन्दा पनि कसरी विविधीकृत सिकाइको वातावरणलाई कक्षाकोठासम्म ल्याउन सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यस्तो विविधीकरण भौगोलिक, क्षेत्रगत, आर्थिकस्तर, जनसांख्यिक, जातीय, साँस्कृतिक इत्यादिको प्रतिनिधित्वमार्फत हुन सक्छ।
यसको एउटा उदाहरणमा नेपालकै बुढानिलकण्ठ स्कुललाई लिन सकिन्छ। बुढानिलकण्ठमा सबै जिल्लाका र सबै वर्ग/समूहका विद्यार्थीलाई भर्ना हुन समान अवसर दिइन्छ। त्यसैले त्यहाँका विद्यार्थीलाई सिकाइमा लाभ मिलेको हो।
तर समग्रमा हामी (नेपालका शिक्षण संस्थाहरू) यस्तो विद्यार्थीलाई मात्र लिन्छौं जसले उच्च अंक/प्रतिशत ल्याएको हुन्छ, जसको अंग्रेजी राम्रो हुन्छ। यस्तो सोच र अभ्यासले विविधीकरणमार्फत सिकाइको वातावरण प्रवर्द्धन गरेको छैन। कक्षाकोठामा जति धेरै विविधीकरण आउन सक्यो, उति नै धेरै दृष्टिकोणहरू आउने हुँदा एकअर्काबाट हुने सिकाइको दायरा पनि फराकिलो हुन्छ। विद्यार्थीलाई राम्रो वा नराम्रो भनेर लेबल लगाउनुभन्दा पनि सबैको विचार र दृष्टिकोणलाई स्थान दिइनुपर्छ। यसबाट विचार, सोच र नवीनता पनि प्रवर्द्धन हुन्छ।
तेस्रो शर्त- सिकाइमा शिक्षकको भूमिका।
पढ्ने-पढाउने भन्नेबित्तिकै यो पूर्णरूपमा पाठ्यपुस्तकमा मात्र निर्भर हुनुपर्छ भन्ने होइन। वास्तविक समस्यालाई लिएर त्यसको वास्तविक समाधान समेत डिजाइन गर्न सकिने प्रोजेक्टमार्फत पनि सिकाइ गर्न सकिन्छ। यसलाई सिकाइको पद्धति पनि भन्न सकिन्छ।
तर यस्तो सिकाइमा शिक्षकले यसो गर, उसो गर भनेर आदेश दिने वा निर्देशित गर्नेभन्दा पनि विद्यार्थीले नै त्यस्तो प्रोजेक्टको नेतृत्व गर्ने, शिक्षकले सही/गतल भनेर नछुट्याउने, कोचिङ र रेखदेख मात्र गर्ने, सही प्रश्न सोधेर उनीहरूको सिकाइमा सहयोग गर्ने हो।
सिकाइमा एउटा मात्र सही उत्तर हुन्छ भन्ने जरूरी नभएकाले शिक्षकको तथाकथित विज्ञता हाबी भएमा विद्यार्थीको खोज, प्रयोग, कल्पना सीमित हुन्छ। यस्तै, सुरूमै सिद्धान्तहरू पढाउन जोड दिइयो भने पनि विद्यार्थीको सिर्जनशीलता र आलोचनात्मक चेत/सोच साँघुरो हुन जान्छ। शिक्षकले सुरूमै ‘विद्वान’ हरूले प्रतिपादन गरेका सिद्धान्त अघि सारेर यस्तो-यस्तो हो भनिदिएपछि विद्यार्थीलाई त्यही नै मात्र सही हो भन्ने लाग्छ। त्योभन्दा बाहिर गएर सोच्ने सम्भावना न्यून हुन्छ।
सुरूमै सिद्धान्तले थिच्नुभन्दा पहिले काम गर्न लगाउने अनि मात्र सिद्धान्तले यसो पनि भन्छ भनिनुले सिकाइमा आकाश जमिनको फरक पर्छ। यस्तो सिकाइको पद्धतिलाई हामी ‘प्रेरक विधि’ पनि भन्छौं जसमा पहिले प्रशस्त छलफल र प्रयोग गरेपछि मात्र सिद्धान्तबारे चर्चा गरिन्छ। शिक्षामा यस्तो सिकाइको पद्धति अपनाइयो भने नयाँ पुस्ताको असीमित कल्पनाशीलताको सम्भावनालाई हामी बाहिर ल्याउन सक्छौं।
उदाहरणका लागि- होटल भन्नेबित्तिकै ठूलो लगानी, प्रशस्त पूर्वाधार/संरचनासहितको ‘होटल’ हो भन्ने मात्र बुझाइ ब्रायन चेस्की र उनका सहसंस्थापक साथीहरूमा हुन्थ्यो भने आज ‘एयर-बिएनबी’ हुन्थेन। उनीहरूले प्रोपर्टी (घर) र आफ्नै लगानीबिना नै होटल सञ्चालनको बिजनेस मोडल परिकल्पना गरे। आज संसारभर नै हजारभन्दा बढी सहरमा सक्रिय एयर-बिएन्डबीमा ४० लाख घरधनीले सूचीकृत गरेका आवास संख्या करिब ५६ लाख पुगिसकेको छ। ८० करोड मान्छेले एयर-बिएन्डबी प्रयोग गरिसकेको आँकडा छ।
यस्तै, कार नै किनेर मात्र ट्याक्सी चलाउन सकिन्छ भन्ने भएको भए उबर आउँथेन। सामान किनबेच भौतिक स्टोरबाट मात्र हुन्छ भनिएको भए अमेजनको परिकल्पना हुन्थेन। बैंक (भौतिकरूपमा) खोलेर मात्र बैंकिङ हुन्छ भन्ने मान्यता पछ्याएको भए पेपल, अलिपेदेखि इसेवासम्म आज अस्तित्वमा हुँदैन थिए।
यस्ता कयौं उदाहरण छन् जसले सिद्धान्तप्रेरित सिकाइको विधिमा क्रमभंगता गरेर प्रयोगवादी सिकाइमा जोड दिएकाले आज संसारमा आफूलाई फरक र सफलसिद्ध गरेका छन्। त्यसैले विद्यार्थीलाई पहिले उनीहरूलाई नै अनुभव, छलफल गर्न र सोच्न प्रेरित र सहयोग गर्नुपर्छ। पछि मात्र उनीहरूको अनुभव र सैद्धान्तिक ज्ञानको ‘रिफ्लेक्सन’ लाई छलफलमा ल्याउनुपर्छ।
चौथो हो – सिकाइको आकलन र मूल्यांकन।
हामीकहाँ अहिलेसम्म पनि विद्यार्थीले के जान्यो/सिक्यो भन्ने आकलनका लागि उसको स्मरण शक्तिको परीक्षा गर्ने अभ्यास छ। परीक्षाको निश्चित समय तोकेर त्यति अवधिभित्र सोधेका प्रश्नको उत्तर जसले राम्रोसँग लेख्यो, त्यो विद्यार्थी अब्बल दरिने मूल्यांकन विधि छ।
शिक्षकमाथि शंकैशंका राखेर परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका जाँच्ने व्यक्ति फरक-फरक पारिन्छ, ताकि विद्यार्थीबाट गोप्य राख्न सकियोस्। परीक्षामा कहाँबाट के सोध्छ भन्ने छनक नहुँदा विद्यार्थीमा तनाव हुन्छ र उसले सकेसम्म सबै रट्न थाल्छ।
तर परीक्षामा सोधिने प्रश्नको बनावट विद्यार्थीको सोचाइ, कल्पनाशीलता, आलोचनात्मक चेतलाई प्रवर्द्धन गर्ने किसिमका बिल्कुलै हुँदैनन्। किताबबाट पढाएको कुरा विद्यार्थीले सम्झिएको छ कि छैन भन्ने जाँच्ने हिसाबले मात्र बनाइएका हुन्छन्। यो विद्यार्थीका लागि मात्र नभएर समाजकै लागि दूर्भाग्य हो। कुनै निश्चित परीक्षामा लेखेको कुराबाट विद्यार्थीको ‘जानकारी’ मापन गर्न सकिएला तर ‘सिकाइ’ विश्लेषण गर्न सकिँदैन।
अनुभवले देखाएको-सिकाएको छ कि ‘पढाइ-लेखाइ’ भन्दा आजको आवश्यकता ‘गराइ’ हो। त्यसैले प्रोजेक्ट पोर्टफोलियोमार्फत नै मूल्यांकन गर्न सकियो र नतिजाभन्दा पनि प्रयासहरूलाई पुरस्कृत गर्न सकियो भने विद्यार्थीहरू जीवनमा नयाँ-नयाँ कुराहरू खोज्ने र सिक्ने हुन सक्छन्।
यस्तै कोर्सलाई अलग-अलग राखेर पढाउनुभन्दा एकीकृत परियोजनामार्फत् पढाउँदा धेरैवटा कोर्सको एकसाथ ज्ञान दिन सकिन्छ। वास्तविक जीवनमा काम गर्दै जाँदा समस्याहरू त्यसरी अलग-अलग देखा पर्दैनन्। त्यसैले सिकाइमा पनि त्यस्तो पद्धति अबलम्बन गर्न सके उनीहरूले पछि वास्तविक जीवनमा सामना गर्नुपर्ने समस्या कसरी हल गर्ने भन्ने सिक्नेछन्।
उदाहरणका लागि- विश्वको एउटा ठाउँमा बनेर हाम्रो हातहातमा आइपुगेको मोबाइलमा फिजिक्स, इन्जिनियरिङ, आर्ट, बिजनेस सबै छ। सबै विषयका जानकार एक ठाउँमा आएर उपभोक्ताको वास्तविक समस्या वा उनीहरूले के खोजिरहेका छन् भन्ने अध्ययन-अनुसन्धान गरेर त्यसको समाधान दिने उत्पादन बनाउन एकीकृत परियोजनाका रूपमा काम गरेकाले नै आजको स्वरूपको फोन हाम्रो हातमा छ। यसमा इञ्जिनियरिङले मात्र अलग भएर काम गरेको भए सम्भव हुन्थेन। यसैले हामीले पनि अब ‘समस्या समाधान’ भन्दा ‘जानकारी संकलन’ गर्न सिकाउने शिक्षणलाई बदल्नुपर्छ।
त्यस्तै, विश्वविद्यालयको गुणस्तर सुनिश्चितता गर्न अर्को महत्त्वपूर्ण विषय हो- शिक्षाको गुणस्तर।
हाम्रो देशमा विद्यमान र हामीले निरन्तर उठाइरहेको मुद्दा भनेको गुणस्तर निर्धारण, अनुगमन र मूल्यांकन हो। शिक्षा राम्रो भएको मानिने अरू देशमा यसलाई अत्यन्त महत्त्वका साथ लिएर प्रणाली व्यवस्था गरिएको छ। हामीले पनि एउटा यस्तो निकाय वा संस्था बनाउनुपर्छ जसले शिक्षाको गुणस्तर मापदण्ड निर्धारण गरेर आवधिक रूपमा शिक्षण संस्थाहरूको अडिट गरेर प्रतिवेदन सार्वजनिक गरोस्।
जस्तो, अमेरिकामा शिक्षण संस्थालाई गुणस्तरको मान्यता (अक्रेडिटेसन) दिइने पद्धति असाध्यै वैज्ञानिक छ। त्यहाँ मान्यताप्राप्त नगरी पनि शिक्षण संस्था चलाउन नपाइने त होइन तर त्यस्तो संस्थाले म ‘अन-अक्रिडेडेट’ हो भनेर प्रष्ट लेखेर सार्वजनिक गरेको हुनुपर्छ। अझ म ‘अन-अक्रेडिटेड’ भएकाले मेरा यस्ता कमजोरी छन् वा हुन्छन्, मेरा ग्र्याजुएटले यस्ता यस्ता रोजगारी नपाउन सक्छन्, पब्लिक फन्डिङमा छात्रवृत्तिका लागि आवदेन गर्न पाउँदैनौ है, भनेर पनि उसले अनिवार्य खुलाएको हुन्छ।
यसले त्यहाँका विद्यार्थीलाई छनोटको सही निर्णय गर्ने अधिकार सिर्जना गरिदिएको छ भने त्यस्ता शिक्षण संस्थाले पनि आफू ‘अन-अक्रिडेडेट’ भए पनि गुणस्तर कायम गर्न र आफूलाई माथिल्लो स्तरमा राख्न इमानदार प्रयत्न गरिरहेका हुन्छन्।
शिक्षाको गुणस्तर कायम गर्न सरकारदेखि कलेजसम्मले बसालेको थितीका कारण नै आज विश्वका उत्कृष्ट विश्वविद्यालयमा अमेरिकाकै अधिकांश पर्छन्। बेलायतमा पनि सरकारले हरेक वर्ष शिक्षण संस्थाको अडिट गरेर विविध मापदण्डको रिपोर्ट निकालिदिन्छ।
शिक्षाको गुणस्तर कायमको सवालमा हामी भने यस्तो पद्धतिको परिकल्पनाबाट समेत निक्कै नै टाढा छौं। सुशासन र पारदर्शिताको सवालमा अनुशासन र सदाचार नभएकाले नै हाम्रो शिक्षा प्रणालीमा अनेक समस्या देखिने गरेका छन्। अहिले निजी कलेजले ठगे भनेर सञ्चारमाध्यमहरूमा बारम्बार आइरहन्छ। ठग्छन् पनि। म आफैं कलेज सञ्चालक भए पनि यो आरोपको बचाउ गर्न चाहन्नँ। तर ठग्ने ठाउँ कलेजले कहाँबाट पाए त?
शिक्षा भनेको जटिल क्षेत्र हो। विद्यार्थीले नै पनि कुन कलेज ठीक, कुन बेठीक भन्ने केका आधारमा छुट्याएर कहाँ पढ्ने भन्ने निर्णय गर्ने? कसले भनेको कुरा वा कसको दाबी पत्याउने र त्यसको आधार के? शिक्षकको अनुहार हेरेर कि, भवन/संरचना हेरेर कि, केका आधारमा कुनै कलेजलाई राम्रो वा नराम्रो भन्ने?
यसको कुनै मापदण्ड छैन।
त्यसैले शिक्षाको गुणस्तर प्रमाणीकरण गर्ने आधिकारिक र निष्पक्ष प्रतिनिधि संस्थाको हामीलाई आवश्यकता छ। त्यस्तो निकायको विज्ञ समूहले अध्ययन गरेर विभिन्न मापदण्डमा यसको अंक यतियति छ भनेर प्रमाणीकरण गरिदिने हो भने विद्यार्थी, अभिभावक, समाज र राज्यले त्यसलाई आधार मानेर सम्बन्धित संस्थाको शिक्षाको गुणस्तर र शुल्कबीचको तालमेल पनि खुट्याएर आवश्यक निर्णय लिन सक्छ। अहिले यसको अभ्यास नभएकाले नै निजी शिक्षण संस्थाले ठगेको अभिभावक/विद्यार्थीले महसुस गरिरहेका हुन्।
सुरूमै यस किसिमले सरकारले प्रबन्ध गर्न सक्दैन भने पनि शिक्षण संस्थाको सुशासनमा ऐक्यबद्धता ल्याउन कम्तीमा उनीहरूलाई अनिवार्य ‘सेल्फ रिपोर्टिङ’ गर्ने विधि बनाइदिन सक्छ। जसमा शिक्षण संस्थाले शुल्क, आफ्नोमा भएका सुविधा, आफ्ना फ्याकल्टी, तिनको योग्यता, संस्थाको जर्नल, आफूले गरेका अध्ययन-अनुसन्धान जस्ता विवरण आवधिक रूपमा (कमसेकम वर्षमा एकपटक) उपलब्ध गराओस्।
त्यस्तो विवरण सार्वजनिक रूपमा सबैले हेर्न सक्ने हुनुपर्छ। त्यसो भयो भने विद्यार्थी, अभिभावक, सञ्चारकर्मीदेखि नियामक निकायसम्मले शिक्षण संस्थाका बारेमा वास्तविक धारणा बनाउन, विवरणअनुसार कुनै कुरा भए, नभएको प्रश्न गर्न र अनुकूल निर्णय गर्न सक्नेछन्। यस्तो मात्र भइदिए पनि हामीकहाँ शिक्षाको गुणस्तर नियन्त्रणमा एउटा राम्रो सुरूआत हुन्छ।
तर हामीकहाँ शिक्षाको गुणस्तर नियन्त्रणमा साँच्चिकै काम गर्न सबैको रूचि देखिँदैन। अनेक स्वार्थहरूमा यो जेलिएका कारण शिक्षा क्षेत्रमा जानजान छिद्रहरू छोडिएका छन्।
हाम्रो अबको उच्च शिक्षा कस्तो हुने भन्ने सवालमा अन्तिम शर्त हो – पाठ्यक्रम कस्तो हुनुपर्छ भन्ने।
एउटा मात्र कोर्ष वा विषयलाई अलग राखेर दिइने शिक्षाले जटिल समस्याको समाधान दिन सक्दैन भन्ने माथि हामीले उदाहरणसहित चर्चा गरिसकेका छौं। त्यसैले हाम्रो पाठ्यक्रम अन्तर-विषयात्मक हुनुपर्छ।
जस्तो- समुदाय, सँस्कृति, रहनसहन, हावापानी, मौलिक वास्तुकला लगायतबारे जानकार व्यक्तिको संलग्नताबिना इञ्जिनियरलाई मात्रै घर बनाउन दियो भने त्यस्ता घरले स्थानीयको आवासको खास आवश्यकता सम्बोधन गर्न सक्दैन। बरू काठमाडौंमा भएजस्तो कंक्रिटको जंगल खडा गर्ने गल्ती दोहोरिने जोखिम हुन्छ।
भूकम्पछि बारपाक (गोरखा) लगायत विभिन्न ठाउँमा यसरी नै पुनर्निर्माणको नाममा मौलिक वास्तुकला लोप हुने दिशामा गएको छ। समाज वा समुदायको ज्ञानबिनाको एकोहोरो इञ्जिनियरिङ मात्रले समाधान दिँदैन भन्ने ज्वलन्त उदाहरण हो यो।
कतिपय डाक्टरले बुढापाका बिरामीलाई उनीहरूले बुझ्ने नेपाली भाषामा नभएर आफूले जानेको अंग्रेजी भाषा र प्राविधिक शब्दावलीमा परामर्श गरिरहेको हामी देख्छौं। त्यस्तोमा बिरामीले नबुझ्दा उल्टै गालीसमेत गर्छन्।
कस्तो बिडम्बना!
फिनल्यान्ड, नर्वे लगायत थुप्रै देशमा बहुसंख्यक सेवाग्राही स्थानीय भाषा मात्र बोल्ने/बुझ्ने कुरालाई विचार गरेर कुनै पनि पेसाकर्मीले स्थानीय भाषा जानेकै हुनुपर्ने अनिवार्य व्यवस्था छ।
यसकारण पाठ्यक्रमलाई कसरी हाम्रो आफ्नै समाजको जरोसम्म बुझेर समाधान दिन सकिन्छ भन्ने सोच र यसतर्फ गहन विचार मन्थन गरेर अन्तर्विषयात्मक बनाउन उत्तिकै जरूरी छ।
हाम्रो अबको उच्च शिक्षा यस्तो होस् जसले शिक्षा र समाजलाई जोड्न सकोस्। यस्तो सिकाइबाट विद्यार्थीले किन र कसरी भन्ने प्रश्नको उत्तर खोज्न सक्ने सामर्थ्यपूर्ण बनाउन सकोस्। हामीले दीक्षित गरेका युवाले सिर्जनशील सोच र नवीनताका सा
