काठमाडौं । बंगलादेशले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । घरेलु टिम बंगलादेशले श्रीलंकाविरुद्धको सिरिज जित्न सफल भएको हो ।
मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्दतिको आधारमा पराजित गर्दै सिरिज जितेको हो । बंगलादेशले श्रीलंकालाई १०३ रनले हराएर बंगलादेशले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।
ढाकामा भएको खेलमा बंगलादेशले दिएको २४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित गरेको थियो ।
वर्षाले खेल रोकिएपछि डीएलको आधारमा श्रीलंकाले ४० ओभरमा २४५ रनको नयाँ लक्ष्य पायो ।
तर, श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका दनुश्का गुनाथिलकाले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ बंगलादेशका लागि मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले ३-३ विकेट लिए । शकिब अल हसनले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २४६ रन बनाएको थियो ।
बंगलादेशका लागि मुस्फिकर रहिमले १२५ रनको शतकीय इनिङ्स खेले ।
यस्तै महमुदउल्लाहले ४१ रन जोड्दा लिटोन दासले २५ रन बनाए । बलिङतर्फ श्रीलंकाका लागि लक्षण सन्दुकन र दुश्मन्था चामिराले ३-३ विकेट लिए ।
जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ ।
