काठमाडौं, १६ माघ । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले लोकरिज्याइँको बजेट ल्याएर स्थानीय तहको निर्वाचनमा जान ५ दलीय गठबन्धन अनेक छिद्र खोजिरहेको आरोप लगाएका छन् ।
प्राइम टाइम टेलिभिजनबाट हिजो राति प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “माधव नेपाल र प्रचण्डका केही वकिलले स्थानीय तहको निर्वाचन एक वर्ष सार्न खोजेका थिए । प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई स्यान्डविचजस्तो बनाउन खोजेका थिए । चौतर्फी दबाब र प्रतिपक्षको चेतावनीपछि ५ दलीय गठबन्धन जेठभित्र स्थानीय तहको निर्वाचनमा जान तयार भयो । तर अझै पनि १५ जेठमा लोकप्रिय बजेट ल्याएर चुनावमा जान अनेक छिद्र खोज्दै छ ।”
उनले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार भएको पनि बताए । “गठबन्धनले स्थिरता दिँदैन भन्ने त दुई तिहाइ बहुमतको केपी ओलीको सरकार ४० महिनामै ढलेको देखिइहाल्यो । अब माधव नेपाल र प्रचण्डले गठबन्धन गर्ने होइन, सीधै कांग्रेस प्रवेश गरे हुन्छ । त्यसो भएमा डेमोक्रेटहरु कांग्रेससँग जान्छन्, कम्युनिस्टहरु एमालेसँग आउँछन्,” उनले थपे, “माधव नेपाल र प्रचण्डले कांग्रेसको बुई चढेर एमालेलाई धम्काइरहेका छन् ।
उनीहरु बाटो भुलेका यात्री हुन् । यो त स्याल र फ्याउराले हात्ती चढेर सिंहलाई धम्काएजस्तो हो ।”
