नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन्।
एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलले नै गलत प्रचारबाजी गरि भ्रम सिर्जना गराएको उनले आरोप लगाए।
‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो। आफैंले प्रयास गरेर, आफैंले मागेर आफैं प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमती र फरक फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भनि महशुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैन थियो’, उनले भने, ‘जुन जुन दलहरु त्यसमा सम्वद्ध हुनुभएको छ, आफैंले गरेका कामका बारेमा आफैले टिप्पणी गरेर फरक मत राख्नुभएको छ, त्यस्तो नगर्नुस् भन्ने नेपाली कांग्रेसको हार्दिक अनुरोध छ।’
नानाथरी प्रचारबाजी गरेर एमसिसीको विषयमा निर्णय दिन नसक्नु दुर्भाग्यपूर्ण रहेको विश्वकर्माले बताए।
‘यो विषयलाई आफूले निर्णय दिन नसक्नु त छदैछ, तर नानाथरीका भ्रमहरू सिर्जना गरेर प्रचारबाजी जसरी गरिएको छ यो प्रचारबाजीले मुलुक, जनता र यो मुलुकको अन्तर्राष्ट्रिय अनुहारलाई पनि धमिल्याउने काम भएको छ। यो दुर्भाग्यपूर्ण छ,’ उनले भने।
नेता विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरुलाई नपत्याउने बताए।
राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पुर्याउनुपर्नेमा उनले जोड दिए। उनले गठबन्धनलाई जिवित राख्दै एमसीसी परियोजनाको विषयलाई टुंगोमा पुर्याउन चाहेको स्पष्ट पारे। राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउन तर्फ कांग्रेसको चासो नरहेको नेता विश्वकर्माले जिकिर गरे।
‘राष्ट्रिय सरोकारका मुद्दा चाहीँ यथास्थितिमा रहने, त्यो कुनै पनि निष्कर्षमा नपुग्ने, तर गठबन्धन चाहीँ जोगाइरहनुपर्छ अथवा गठबन्धन टुट्छकि, गठबन्धन बिग्रिन्छकि भनेर राष्ट्रिय मुद्दालाई यथास्थितिमा लथालिङ्ग छोडेर गठबन्धन जोगाइ राख्दाखोरी जनताले हामीलाई पत्याउँदैनन्’, उनले भने, ‘जनताले पत्याउने गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले नेपाललाई पत्याउने गरीको भुमिका निर्वाह गर्नु भनेको राष्ट्रिय पेचिला मुद्दाहरुलाई, राष्ट्रिय सरोकारका मुद्दाहरुलाई टुंगोमा पुर्याउनु हो।’
उनले राष्ट्रिय सरोकारको विषयलाई गठबन्धनमा छलफल गरेर एकसाथ टुंगोमा पुर्याउनुपर्ने धारणा राखे।
‘हामी गठबन्धनलाई जिवित राखेर राष्ट्रिय सरोकारका मुद्दाहरू टुंग्याउन चाहान्छौं। तर कथम् कदाचित यी मुद्दालाई पन्छाएर गठबन्धन जोगाऔं भन्यौं भने हाम्रो त्यतातिर खासै चासो रहदैन,’ उनले भने, ‘चुनाव अगाडि एक्लैले कुनै पनि सरकार बन्दैन। त्यसैले कुनै न कुनै गठबन्धनबाट भए पनि मुलुकको राजनीतिलाई निकास दिनुपर्छ। मुलुकका राष्ट्रिय सरोकारका विषयहरुलाई निकास दिनुपर्छ। हामी त्यो बारेमा पनि सोच्दैछौं।’
उनले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरु पनि सन्तुष्ट रहेको बताए। निर्वाचनलाई सतप्रतिशत् निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने उनको भनाई छ।
