नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेनहरू विजय लामा र श्रवण रिजाल मुलुकको उड्डयन इतिहासमै पहिलोपटक ‘वाइड बडी’ जहाजको प्रशिक्षक पाइलट (आइपी) बनेका छन्।
तीन दशकदेखि निगममा जहाज उडाइरहेका क्याप्टेन लामा र रिजालले माघ १७ देखि २५ सम्म बहराइनस्थित गल्फ एभिएसन एकेडेमीबाट सैद्धान्तिक र व्यावहारिक तालिम पूरा गरेपछि वाइड बडी जहाज ‘ए३३०–२००’ को प्रशिक्षक पाइलट बनेका हुन्।
वायुसेवा निगमको अपरेसन म्यानुअलअनुसार दुवै क्याप्टेनले बहराइनमा १८ घन्टाको ग्राउन्ड तालिम कक्षा ‘थेउरेटिकल नलेज कोर्स’ र २० घन्टाको ‘फुल फ्लाइट सिमुलेटर ट्रेनिङ’ पूरा गरेपछि वाइड बडी जहाजको प्रशिक्षकको प्रमाणपत्र प्राप्त गरेका थिए।


क्याप्टेन लामा साढे तीन दशकदेखि निगमका जहाज उडाइरहेका छन्। उनले ट्विनअटरदेखि बोइङ ७५७, ए३२०, ए३३० सिरिजका जहाज उडाइसकेका छन्।
त्यसैगरी क्याप्टेन रिजालले पनि ट्विनअटरदेखि बोइङ ७५७, ए३२०, ए३३० सिरिजका जहाज उडाइसकेका छन्। रिजाल वाइड बडी जहाज ए३३० को नेपालकै पहिलो क्याप्टेन पनि हुन्।

