काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबिरुद्ध दर्ता भएको महाअभियोगको प्रश्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि साथ दिने बताउनुभएको छ ।
आज आइतवार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध सङ्घीय संसद् सचिवालय महाअभियोगको प्रस्ताव दर्ता गराएका हुन् । त्यही क्रममा बोल्दै मन्त्री बडूले न्यायालयमा भएको गतिरोध अन्त्यका लागि र संवैधानिक ढङ्गले न्यायपालिका सुरु गराउने कुरामा सबै दलले साथ दिने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले न्यायपाललिका संवैधानिक रूपबाट सञ्चालन गर्न नसकेको भन्दै न्यापालिकामाथि आउन सक्ने खतरालाई मध्यनजर गरेर महाअभियोगको प्रस्ताव दर्ता गरेको बताउनुभयो ।
मन्त्री बडूले प्रधानन्यायाधीश जबराविरुद्ध संवैधानिक निकास आवश्यक रहेको भन्दै दुई तिहाइले यसलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशविरुद्ध प्रतिनिधि सभाका सांसदहरूले संवैधानिक निकास खोज्ने प्रयास गर्नुभएकाे छ । अब यो प्रक्रिया अघि बढ्छ । यो गतिरोध समाप्त भइसकेपछि अब न्यायपालिकाकाे पनि संवैधानिक बाटो सुरु हुन्छ । न्यायपालिकाकाे बेथिति फुकाउनु पर्छ र जनतालाई, सेवाग्राहीलाई छिटो न्याय दिनुपर्छ भन्नेमा सबैको सहमति हुन्छ । मलाई लाग्छ दुई तिहाइले पनि यसलाई समर्थन गर्छ । संवैधानिक प्रक्रियामा सबैको सहयोग हुन्छ र न्याय प्रक्रिया धेरै दिन राेकिँदैन ।’
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव तथा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९५ जना सांसदको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
