गायक प्रकाश सपूतले ‘जाले रुमाल फाट्यो’ को अन्तिममा रहेको विवादास्पद संवाद हटाएका छन् । प्रकाश सपूतका हरेक सिर्जना चर्चित हुनुका साथै विवादमा पनि तानिने गर्छन् । आजभोलि त उनलाई आफैले विवाद सिर्जना गरेको आरोप पनि लाग्ने गरेको छ । यसपटक जाले रुमाल फाट्योको अन्तिममा समावेश रहेको संवादको चर्को आलोचना भइरहेको छ ।
दुई वर्षअगाडिको सुपरहिट गीत ‘कुरा बुझ्न पर्च’को सिक्वेलका रुपमा गत शनिवार राती समीक्षा अधिकारीको स्वरमा ‘जाले रुमाल फाट्यो’ सार्वजनिक गरिएको थियो ।
भिडियोमा ‘कुरा बुझ्न पर्च’कै जोडी अभिनेत्रीद्वय स्वस्तिमा खड्का र आँचल शर्माका साथ गौरव पहारी, विशाल पहारीसँगै प्रकाश स्वयंमको अभिनय छ ।
गीत सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिन सफल रह्यो । विगतमा झैं प्रकाशको यस सिर्जनाले पनि लोभलाग्दो भ्युज पाउँदै गयो ।
गीतको पक्षलाई सबैले प्रशंसा गरे । तर, भिडियोको अन्तिममा समावेश संवादलाई लिएर भने धेरैले आलोचना गरे ।
गीतलाई चर्चामा ल्याउन प्रकाशले अनावश्यक रुपमा उक्त संवाद राखेको आरोप धेरैको थियो ।
आलोचनापछि प्रकाशले सोमवार साँझ भिडियोबाट उक्त संवाद हटाएका हुन् । उनले संवाद हटाउनुको कारणबारे आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् ।
प्रकाशले ‘जाले रुमाल फाट्यो’मा जातीय विभेद विरुद्धको सन्देश दिन खोजेका छन् । हरेक प्रकारका विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्छ भन्ने सन्देश भिडियोमार्फत दिन खोजिएको छ ।
गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ ।
