जीवनको उद्देश्य प्रत्येक व्यक्तिका लागि फरक हुन्छ। केहीका लागि यो व्यक्तिगत लक्ष्य पूरा गर्नु, केहीका लागि पारिवारिक जिम्मेवारी निर्वाह गर्नु, समाजमा योगदान दिनु, या आत्मिक शान्ति र सुखको खोजी गर्न हुन सक्छ। उद्देश्यले जीवनलाई अर्थ दिन्छ र प्रेरणा प्रदान गर्छ। जीवनका अनुभवहरूले हामीलाई थुप्रै कुरा सिकाउँछन्। केहि कुरा भोगाइबाट, केही सिकाइबाट, र केही घटनाहरू प्रत्यक्षदर्शी भएर सिकिन्छ।
प्रेमको बारेमा फरक–फरक धारणा र विचारहरू पाइन्छन्। समयसँगै प्रेमको बारेमा पनि थुप्रै कुरा सिक्ने मौका मिल्यो। प्रेमका कारण खुशी र दुःखका मिश्रित घटनाहरू देखिन्छन् र मैले पनि त्यसको प्रत्यक्षदर्शी भएको छु। प्रेमका बारेमा धेरै कुरा पढेँ, भोगेँ, र अनुभव पनि गरेँ।
प्रेमका बारेमा सोच्दा मैले सबैको बारेमा सोचें, सबैप्रति प्रेम र सद्भाव देखाउन चाहें। तर, कहिलेकाहीं मलाई यस्तो लाग्यो कि मैले आफैंलाई प्रेम गर्न बिर्सिएको छु। यतिका बर्ष खै कस्लाइ प्रेम गरे ?
कहिले फुललाई त कहिले रसलाइ गरे
आफैलाई पनि प्रेम गर्नुपर्छ भन्ने थाहा नभयर होला मैले अरूलाई प्रेम गरि रहे!!
मैले आफैलाई पनि प्रेम गर्नुपर्छ भन्ने कुरा मैले कहिल्यै नत पढेँ, नत अरूका विचारले मलाई बुझाए। त्यसैले त म र मेरो आत्मा बीचको सम्बन्ध एक नदिको दुई किनार जस्तो बन्यो। पानीमा नुन हाल्दा पानी नुनिलो हुन्छ तर नुन देखिदैन, पानी मात्र देखिन्छ। ठीक त्यस्तै, जीवन बाहिर देखिनु र भित्रको पीडा अलग–अलग कुरा छन्।
आज मैले आफैलाई प्रेम गर्न छुट दिएको कुरा सम्झेर गुनासो गर्दै छु। अब मैले आफैंलाई प्रेम गर्न थाल्नुपर्छ। यो प्रेम एक सुन्दर बिहान जस्तो होस्, जसरी सूर्यको किरणले अँधकार हटाउँछ। मेरो आशा र विश्वास कायम राखी मेरो जीवन खुशीले भरियोस्।
-बासुदेब बडु /धनगढी
